हजारबिघा, २३ कात्तिक – सर्लाहीको हरिपुर नगरपालिका–१, लाई बालविवाहमुक्त वडा घोषणा गर्न हिजो साइकल र्याली निकालिएको छ ।
ग्रामीण नारी उत्थान संघ, सेभ द चिल्ड्रेन र वडा कार्यालयको संयुक्त आयोजनामा हरिपुर १ को नयाँ बजार, स्कुलटोल, हनुमान चोक, डाँडाटोल, पाँच नं. टोल, बाहुन टोल हुँदै हजारबिघा बजारसम्म साइकल र्याली निकालेर कोण सभा गरिएको हो । कार्यक्रममा बालविवाह नगर्ने र रोक्ने विषयमा सहभागीको हस्ताक्षरसमेत संकलन गरिएको छ । र्यालीमा वडाभित्रका हरिहर बाल समूह, पन्चतारा बाल समूह तथा वडा स्तरीय बाल संजालका बालबालिका, विद्यालयका प्रधानाध्यापक, शिक्षक, राजनीतिज्ञ, वुद्धिजिवी, समाजसेवी, सहयोग संस्थाका प्रतिनिधि, विद्यार्थी, स्थानीयवासी लगायत सहभागी भएका समुन्नति परियोजनाका वरिष्ठ परियोजना संयोजक दीपक भण्डारीले जानकारी दिए ।
हरिपुर १ का वडाध्यक्ष नानीबाबु थापाले वडालाई बालविवाहमुक्त बनाउन निरन्तर सचेतनामूलक अभियान जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
ग्रामीण नारी उत्थान संघका सचिव सूर्यप्रसाद चालिसेले हरिपुर तथा ईश्वरपुर नगरपालिकाका विभिन्न वडालाई बालविवाहमुक्त घोषणा गर्न सेभ द चिल्ड्रेनसँग साझेदारी गरी संस्थाले निरन्तर यस प्रकारको अभियान संचालन गरिरहेको बताए । सौजन्य उज्यालो अभियान

