Loktantra Khabar National Weekly
Ad

व्यवसायी अभिषेक सर्राफको घरबाट ६ करोड भन्दा बढीको सुन र चाँदी बरामद

लोकतन्त्र खबर
२८ आश्विन २०८२

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्सा र राजस्व अनुसन्धान कार्यालय बाराको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–८ माईस्थानस्थित अभिषेक ज्वेलर्सका सञ्चालक अभिषेक सर्राफको घरमा छापामारी गरी ठूलो परिमाणमा अवैध सुन, चाँदी र नगद बरामद गरेको छ । विशेष सूचनाको आधारमा सोमबार बिहानदेखि रातीसम्म चलेको छापामारीमा भन्सार छली ल्याइएको सुन र चाँदी फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण मुख्यालय पर्सा र राजस्व अनुसन्धान कार्यालय बाराको टोलीले गरेको खानतलासीमा २ किलो २ सय ५४.८६ ग्राम सुन, १० किलो ३ सय ५४.०७ ग्राम चाँदी, ५५९.१० ग्राम सुनजस्तो देखिने धातु, ५५० ग्राम चाँदीजस्तो देखिने धातु, नेपाली रुपैयाँ १ लाख ९ हजार र भारतीय रुपैयाँ ४१ हजार ६० बरामद भएको छ ।
नेपाल सुनचाँदी व्यवसायीले असोज २७ गते सार्वजनिक गरेको मूल्यअनुसार बरामद गरिएको सुन, चाँदी, नगद, र अन्य सामग्रीको कुल बजार मूल्य करिब ६ करोड १२ लाख १ हजार ८८७ रुपैयाँ १६ पैसा रहेको छ । जसमा वास्तविक सुनको मूल्य ४ करोड ६४ लाख ७७ हजार २९४ रुपैयाँ ७१ पैसा र वास्तविक चाँदीको मूल्य २८ लाख ५८ हजार १७८ रुपैयाँ ६९ पैसा रहेको छ ।
त्यस्तै, सुनजस्तो देखिने धातुलाई सुन नै मानेर हिसाब गर्दा त्यसको मूल्य १ करोड १५ लाख ३९ हजार ८९० रुपैयाँ ९५ पैसा र चाँदीजस्तो देखिने धातुलाई चाँदी नै मानेर हिसाब गर्दा १ लाख ५१ हजार ८२७ रुपैयाँ ५० पैसा हुन्छ । यसबाहेक, बरामद नगद १ लाख ९ हजार रुपैयाँ र भारुलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा ६५ हजार ६९६ रुपैयाँ रहेको छ ।
बरामद वस्तुहरू सुनचाँदी व्यवसायी संघ पर्सामा मापन गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण मुख्यालय पर्साका प्रवक्ता, प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरि प्रसाद शर्माले राजस्व चुहावटको सूचनाको आधारमा सर्राफको घर, पसल र गोदाममा खानतलासी गरिएको बताए । खानतलासीका क्रममा कारोबारसँग सम्बन्धित कागजात, खाता, विद्युतीय माध्यम र अन्य प्रमाणहरू कब्जामा लिइएको उनले जानकारी दिए ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम कारबाही अघि बढाइएको र सुनचाँदी व्यवसायी महासङ्घका प्रतिनिधिको उपस्थितिमा मुचुल्का उठाउने कार्य गरिएको शर्माले बताए । छापामारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो ।
छापामारीको विरोधमा सुनचाँदी व्यवसायीहरूले नाराबाजी गर्दै सडकमा प्रदर्शन गरेका थिए । उनीहरूले राजस्व अनुसन्धान कार्यालयले व्यवसायीहरूलाई अनावश्यक दुख दिएको र हैरान गरेको आरोप समेत लगाएका थिए । व्यवसायीहरूले घरमा सामग्री राख्दैमा अनुसन्धान गर्नु अनुचित भएको र यसले व्यवसायीहरूलाई त्रसित बनाएको उनीहरूको कथन थियो ।
विरोध चर्किएपछि व्यवसायीहरूले केही समय सडक समेत जाम गर्दा वीरगञ्ज बजारमा दिनभर तनावको स्थिति सिर्जना भएको थियो । सर्राफलाई नियन्त्रणमा लिएर अगाडि बढेको गाडीलाई माइस्थान चोक अगाडि रोकेर व्यवसायीहरूले माइस्थान मन्दिर तर्फ मोडेका थिए ।
स्थितिलाई नियन्त्रणमा लिन पर्सा प्रहरीका प्रमुख एसपी सुदीप राज पाठक र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख एसपी पूरणचन्द्र भट्ट घटनास्थल पुगेका थिए । थप प्रहरी परिचालन गरी अवस्था नियन्त्रणमा लिइएको थियो ।
सोमबार साँझसम्म चलेको छापामारी पश्चात् सुनचाँदी व्यवसायी महासङ्घका पदाधिकारीहरूको रोहबरमा मुचुल्का उठाइ प्रहरीले बरामद सामग्री, कागजात लगायतका सामग्री बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय लागेको थियो । स्रोतका अनुसार राजश्व अनुसन्धान कार्यालयले अभिषेक सर्राफलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । सोजन्य यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: