Loktantra Khabar National Weekly
Ad

आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको शानदार जीत

लोकतन्त्र खबर
२३ आश्विन २०८२

आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई हराएको छ । नेपालले कुवेतलाई ५८ रनले हराएको हो ।
नेपालले दिएको एक सय ४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर एक बलमा ८३ रनमा अलआउट भयो । कुवेतका क्लिन्टो एन्टोले २६ र यासिन इशाक पटेलले १९ रन बनाए । नेपालका कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले समान दुई तथा सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले समान एक विकेट लिए ।

त्यसअघि ओमानमा टस हारेर ब्याटिङ गरेको नेपालले सात विकेट गुमाएर एक सय ४१ रन बनाएको थियो । नेपालका कुशल भुर्तेलले ६६ तथा दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले समान २० रन बनाए । कुवेतका नवीनराज राजेन्द्रन र अनुदीप चेन्थमाराले समान दुई तथा मोहम्मद अकिफ फारुक र मोहम्मद असलमले समान एक विकेट लिए ।

यो जीतसँगै समूह ‘बी’मा रहेको नेपालले महत्त्वपूर्ण दुई अङ्क जोडेको छ । अब नेपालले भोलि जापानसँग खेल्नेछ । समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ । सुपर–सिक्समा छ टोलीमध्ये शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: