Loktantra Khabar National Weekly
Ad

SEE मा एकजनासमेत उत्तीर्ण हुन नसकेपछि सिसौटको बागमती मावि विवादमा, शिक्षक भर्नामा राजनीतिक हस्तक्षेप भएको आरोप

लोकतन्त्र खबर
१९ असार २०८२

मनोज यादव—
सर्लाही, असाढ १९  सर्लाहीको रामनगर गाउँपालिका वडा न–६, सिसौटस्थित श्री बागमती माध्यमिक विद्यालयमा यस वर्षको SEE परीक्षामा एक जना पनि विद्यार्थी पास हुन नसकेपछि अभिभावक र विद्यार्थीले कडा विरोध जनाएका छन्। ‘गुणस्तरीय शिक्षा’ का नाममा सरकार करोडौं खर्च गरिरहँदा एक जना पनि विद्यार्थी पास हुन नसक्नुले शिक्षा क्षेत्रको वास्तविक अवस्था उजागर गरिदिएको छ।

 

विद्यालयमा नियमित पढाइ नहुँदा यस्तो स्थिति आएको भन्दै आक्रोशित विद्यार्थीहरूले “हामीलाई पढाइ भएन, परिणाम कहाँबाट आउँछ?”, “राजनीतिक शिक्षक हटाऊ”, “हाम्रो भविष्य फिर्ता गर” भन्ने नारासहित विद्यालय परिसरमा प्रदर्शन गरेका छन्।

 

स्थानीय अभिभावकहरूका अनुसार विद्यालयमा पढाइ भन्दा पनि राजनीति हाबी भएको छ। शिक्षकहरू राजनीतिक भागबन्डाबाट भर्ती हुने र अधिकांश समय मोबाइल वा गफमा बिताउने, कक्षामा प्रभावकारी पढाइ नहुने गुनासो छ। कतिपय शिक्षक त केवल हाजिरीका लागि आउने र पढाउने इच्छाशक्ति नै नदेखिएको आरोप पनि लगाइएको छ।

 

विद्यालयको यस अवस्थाको मुख्य कारण राजनीतिक हस्तक्षेप रहेको जनाइएको छ। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र शिक्षा शाखाका प्रमुखहरूले योग्यता हेर्नु भन्दा पनि आफन्त र कार्यकर्तालाई रोजेपछि शैक्षिक अवस्था बिग्रिएको स्थानीयको आरोप छ।

 

परिणामसम्बन्धी जानकारी समेत नदिने
विद्यालयको नतिजा सार्वजनिक नहुनुमा  समय विवरणनै परीक्षा बोर्डमा नपठाइएको हुन सक्ने आशंका गरिएको छ। तर विद्यालय प्रशासनले अहिलेसम्म औपचारिक रूपमा कुनै जानकारी वा क्षमा याचना सार्वजनिक गरेको छैन।

 

शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड, अख्तियार लगायत निकायहरूले यस्तो गम्भीर घटनालाई सामान्य रूपमा नलिएर छानबिन गर्नुपर्ने स्थानीय बुद्धिजीवीहरूको माग छ।

प्रतिक्रिया दिनुहोस्: