Loktantra Khabar National Weekly
Ad

बालश्रममुक्त स्थानीय तह घोषणाको पूर्वतयारीका लागि सर्लाहीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लोकतन्त्र खबर
२९ जेष्ठ २०८२

लोकतन्त्र समाचारदाता
सर्लाही, जेठ २८ “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने नारासहित सर्लाहीको मलंगवामा बुधवार एक दिवसीय जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। श्रम तथा यातायात मन्त्रालय, मधेस प्रदेशको आयोजनामा आयोजित कार्यक्रम बालश्रममुक्त स्थानीय तह घोषणाको पूर्वतयारीका लागि केन्द्रित रहेको थियो।
कार्यक्रमको अध्यक्षता श्रम तथा यातायात मन्त्रालयका उपसचिव युवराज अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा मधेस प्रदेशका यातायात मन्त्री कौशल किशोर राय सहभागी हुनुहुन्थ्यो। मन्त्री रायले बालश्रम न्यूनीकरण तथा नियन्त्रणका लागि स्थानीय तह, विद्यालय, समाज र राज्य सबैको सामूहिक भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै सबै निकायले एकीकृत प्रयास गर्नुपर्नेमा जोड दिनुभयो।

 

मलंगवा नगरपालिका–९ स्थित होटल सुजातामा आयोजित कार्यक्रममा जिल्लाभरिका विभिन्न स्थानीय तहका उपप्रमुखहरू, प्रमुख प्रशासकीय अधिकृतहरू, महिला तथा बालबालिका शाखाका प्रमुखहरू, बाल अधिकारकर्मी, पत्रकार, गैरसरकारी संस्था, र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमलाई बालश्रम विरुद्ध सशक्त नीति निर्माण र स्थानीय तहलाई जिम्मेवार बनाउने सन्दर्भमा महत्वपूर्ण अवसरको रूपमा लिएका थिए।

 

कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद मधेस प्रदेश समन्वय अधिकारी संजिव महतोले आफ्नो प्रस्तुति मार्फत बालश्रम र बालश्रमिकको परिचय, उनीहरूको वर्तमान अवस्था, विद्यमान ऐन कानुनहरू, बालश्रम नियन्त्रणमा स्थानीय तहको भूमिका, तथा बालश्रममुक्त घोषणाको आवश्यकता र त्यसका प्रक्रिया समेटेर सहभागीहरूलाई जानकारी गराउनुभएको थियो।

 

अन्तरक्रियामा सहभागीहरूले बालश्रम न्यूनीकरण सम्बन्धी ऐन कार्यान्वयनमा देखिएका व्यवहारिक समस्या, स्रोतको अभाव, अभिभावकको कमजोरी, शिक्षा प्रणालीको पहुँच, गरीबी र सामाजिक चेतनाको कमी लगायत विषयहरू उठाएका थिए। साथै, उनीहरूले यी समस्याको दीर्घकालीन समाधानका लागि संघीय, प्रादेशिक र स्थानीय तहबीच प्रभावकारी समन्वय, जनचेतनामूलक कार्यक्रम, विद्यालयमा पहुँच वृद्धि, गरिबी निवारण कार्यक्रम र बालअधिकार सुरक्षासम्बन्धी कठोर कार्यान्वयन प्रणाली आवश्यक रहेको सुझावसमेत प्रस्तुत गरेका थिए।

 

कार्यक्रमले सर्लाही जिल्लालाई निकट भविष्यमै बालश्रममुक्त जिल्ला बनाउने आधार तय गर्ने र सम्पूर्ण स्थानीय तहहरूलाई सचेत, जिम्मेवार र सक्रिय बनाउने अपेक्षा गरिएको छ।

 

कार्यक्रमको संचालन श्रम तथा यातायात मन्त्रालयका अधिकृत नवीन शर्माले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: