मनोज यादव—
सर्लाही,जेठ १० सर्लाहीको पर्सा गाउँपालिका वडा न-५ मा गत ३ गते घटेको सामान्य विवादलाई धर्मसँग जोडेर राजनीतिक रंग दिन खोजिएको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन्। घटनासम्बन्धी गलत प्रचारप्रसारले समाजमा भ्रम फैलिएको र धार्मिक सद्भावमा असर परेको उनीहरूको भनाइ छ।
स्थानीय राजेन्द्र साह सोनार जेठ ८ गते हुन लागेको छोरीको विवाहको तयारीमा रहेका तसलिम अंसारीको घरमा गहना बनाउन इच्छुक हुनुहुन्छ भनि बुझ्न जाँदा अंसारीले“मेरो घरमा किन आइस्?” भन्दै अपमानित गर्दै थप्पड हानेपछि विवाद चर्किएको र सोही क्रममा गाउँमा हल्ला फैलिएर भीड जम्मा भएको स्थानीयहरुको भनाई छ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार, भिड देखेपछि डराएर भागेका अन्सारी अनजानमा सुंगुरको खोरभित्र पसेका थिए। उनलाई खोरबाट निकाल्दै गर्दा कोही ब्यक्तिले भिडियो खिचेर सामाजिक सञ्जालमा हालिदिएपछि उक्त विषयले सनसनी मच्चाएको हो।
वडाध्यक्ष अनिल यादवले पनि घटना सामान्य झगडा मात्र भएको तर केही गलत मानसिकता भएका व्यक्तिले आफ्नो स्वार्थका लागि यसलाई राजनीतिक रूप दिन खोजेको बताए। उनले यस्ता व्यक्तिलाई कानुनी कारबाहीको माग गरेका छन्।
घटनासँग सम्बन्धित भन्दै प्रहरीले राजेन्द्र साहसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजेन्द्र साह, कमलेश साह , पप्पु यादव, राहुल महतो (राजेन्द्र पक्ष) र तसलिम अन्सारी, दिल मोहम्मद अन्सारी (अन्सारी पक्ष) रहेका छन्। प्रहरीले राजेन्द्र पक्षमाथि “धर्मसम्बन्धी कसुर र अमानवीय व्यवहार” को मुद्दा दायर गरेको छ भने अन्सारी पक्षमाथि “अभद्र व्यवहार” सम्बन्धी मुद्दा लगाइएको छ।
यता, राजेन्द्र साहका परिवारजनले शुक्रवार मलंगवामा पत्रकार सम्मेलन गरेर उनीहरू निर्दोष रहेको भन्दै झुटा आरोप फिर्ता लिन माग गरेका छन्।
यसैबीच, विवादको छानबिन हुँदै जाँदा तसलिम अन्सारी र उनकी पत्नी जुमैदा खातुनले भारतको नागरिकता लिएको खुल्न आएको छ। उनीहरूले झुटो विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोप लागेपछि पर्सा–५ का ३४ वर्षीय विरेन्द्र साह सोनार, ५५ वर्षीय चन्देश्वर राय यादव र २४ वर्षीय रोहित कुमार महतोले संयुक्तरूपमा मुद्दा समेत दिइसकेका छन् ।
स्थानीयवासीले घटनालाई राजनीतिक वा धार्मिक रंग दिनुभन्दा निष्पक्ष अनुसन्धानका आधारमा दोषीलाई कारबाही गरिनुपर्नेमा जोड दिएका छन्।