
भावना चौधरी–
सर्लाही,जेठ ३ गते। सर्लाहीको कबिलासी नगरपालिका वडा नं. २, पिपरियामा शनिवार स्थानीय तहमा न्याय र समन्वय कसरी प्रभावकारी बनाउने भन्ने उद्देश्यका साथ “स्थानीय समन्वय र न्यायको लागि उपमेयर“ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
इम्प्याक्ट इनीशिएटिभ नेपाल, सर्लाहीको संयोजन तथा कबिलासी नगरपालिकाको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा कबिलासी नगरपालिकाकी उपमेयर पुनम कर्ण प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने इम्प्याक्ट सर्लाहीका संयोजक विकास यादवले अध्यक्षता गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, सशस्त्र प्रहरीका एसपी देव चन्द्र, अनुसन्धान प्रमुख राम रिझन यादव, अगर्वाका पूर्व गाविस अध्यक्ष विनय कर्ण, विभिन्न वडाका अध्यक्षहरू, वडा सदस्यहरू, समाजसेवी, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा अतिथिहरूले स्थानीय तहमा न्यायिक समितिको भूमिका, अधिकार र कार्यदायित्वबारे धारणा राखेका थिए। न्यायिक समितिमा आउने गुनासो कसरी सुन्ने, सेवा प्रवाहमा पारदर्शिता कसरी कायम गर्ने, विवाद समाधानका उपायहरू, कमजोर र पछाडि पारिएका समुदायको न्यायमा पहुँच कसरी सुनिश्चित गर्ने भन्ने विषयमा धारणा राखेका थिए।
प्रमुख अतिथि उपमेयर कर्णले न्यायिक सेवा जनताको पहुँचमा पु¥याउन स्थानीय तहलाई अझ सशक्त र उत्तरदायी बनाउन यस्ता कार्यक्रमले सघाउने बताउनुभयो। उहाँले जनप्रतिनिधि र नागरिकबीचको संवाद र विश्वासको सम्बन्ध मजबुत बनाउने दिशामा यस्ता प्रयासहरू उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमको दोस्रो सत्रमा सहभागीहरूलाई न्यायिक समितिको कानुनी संरचना, उद्देश्य, काम गर्ने प्रक्रिया, मेलमिलाप विधि, निर्णय लिने आधार, उजुरी दर्ता गर्दा लाग्ने खर्च, स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेखित न्यायिक अधिकारको दायरा लगायतका विषयमा विस्तारपूर्वक जानकारी प्रदान गरिएको थियो। साथै, न्यायिक समितिले हेर्न मिल्ने र नमिल्ने विवादको विषयहरुमा जानकारी गराइएको थियो।
कार्यक्रमको औपचारिक उद्घाटन नेपाल नगरपालिका संघकी मधेस प्रदेश केन्द्रीय सदस्य समेत रहनु भएकी उपमेयर कर्ण लगायत अतिथिहरूले गमलामा रोपिएको बिरुवामा पानी हालेर गर्नुभएको थियो। वातावरणमैत्री र शान्तिपूर्ण सन्देश दिने उद्देश्यले गरिएको उक्त उद्घाटन कार्यक्रमले सबैको ध्यान तानेको थियो। यस्ता कार्यक्रमले नागरिकमा कानुनी चेतना अभिवृद्धि गर्नुका साथै स्थानीय सरकारप्रति विश्वास बढाउने विश्वास लिइएको पत्रकार महासंघ सर्लाहीका उपाध्यक्ष बन्दना झाले बताइन् ।कार्यक्रमको सञ्चालन शिक्षक सन्तोष कर्णले गरेका थिए । लोकतन्त्र खबर