Loktantra Khabar National Weekly
Ad

मलंगवामा आँखा वार्ड भवनको शिलान्यास,नेत्रज्योति संघको लागि स्वास्थ्य मन्त्री सिंहले गरे फेको मेसिनको प्रतिबद्धता

लोकतन्त्र खबर
१३ बैशाख २०८२

मलंगवामा आँखा वार्ड भवनको शिलान्यास,नेत्रज्योति संघको लागि स्वास्थ्य मन्त्री सिंहले गरे फेको मेसिनको प्रतिबद्धता

मनोज यादव—-
सर्लाही,बैशाख १३
नेपाल नेत्रज्योति संघ मलंगवामा  आँखा बिरामीका लागि नयाँ वार्ड भवनको शिलान्यास गरिएको छ। मधेस प्रदेश सरकारका स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंहले शनिवार एक कार्यक्रमका बीच वार्ड भवनको शिलान्यास गरेका हुन्।

 

करीब ३० लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त भवनले सेवा विस्तारमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।  शिलान्यासपछि मन्त्री सिंहले अस्पतालको निरीक्षण गर्दै आफ्नै आँखा परीक्षणसमेत गराएका थिए। उनले आगामी प्रदेश सरकारको बजेटबाट आँखा शल्यक्रियाका लागि अत्यावश्यक ‘फेको मेसिन’ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

 

सर्लाही जिल्लासँगै छिमेकी जिल्ला र भारतबाट समेत बिरामीहरु आँखा उपचारका लागि मलंगवा आउने गरेका छन् ।समाजसेवी डा.गुणेश्वर झाका अनुसार  यहाँबाट प्रदान गरिने सेवाप्रति सबैको विश्वासकै कारण वर्षेनी हजारौं भारतीय बिरामीहरु आँखाको परिक्षण तथा शल्यक्रिया गराउँदै आएका छन् ।

 

कार्यक्रमको अध्यक्षता संघका कार्यवाहक सभापति सत्यनारायण अग्रवालले गरेका थिए भने मलंगवा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष तथा संघका सदस्य मुकेश जयसवालले संघको बारेमा जानकारीसहित स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमक संचालन संघका सहसचिव तिलक क्षेत्रीले गरेका थिए।

 

शिलान्यास समारोहमा विशिष्ट अतिथि जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहा, वडा नं. ९ का वडाध्यक्ष चन्देश्वर राय, वडा नं. ३ का वडाध्यक्ष प्रमोद राय, सर्लाही आँखा केन्द्रका प्रमुख डा. निराजन साह ,संघका पदाधिकारी ,आँखा केन्द्रका कर्मचारीहरुलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: