Loktantra Khabar National Weekly
Ad

मुख्यमन्त्री सिंहद्वारा लालबन्दीका १९ अवैध स्वास्थ्य संस्था बन्द गर्न निर्देशन

लोकतन्त्र खबर
९ चैत्र २०८१
मनोज यादव—
सर्लाही, चैत १०
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न २३ वटा स्वास्थ्य संस्थाको अनुगमन गरेका छन्। अनुगमनका क्रममा कानुनी रूपमा दर्ता भई सेवा प्रदान गरिरहेका दुई संस्था मात्र अनुमतिपत्र दुरुस्त रहेको पाइएको छ भने अन्य दुई संस्थाले नवीकरण गर्नुपर्ने अवस्था देखिएको छ।
शनिबार साँझ सम्पन्न अनुगमनमा मापदण्ड अनुरूप सेवा सञ्चालन नगरेका र अनुमतिपत्रबिनै सञ्चालनमा रहेका १९ वटा अस्पताल तथा क्लिनिकलाई मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएका छन्। उनले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन अनुगमनलाई थप कडा बनाउने प्रतिबद्धता जनाएका छन्। उनलेअनुगमनका क्रममा स्वास्थ्य सेवामा लापरबाही गर्नेलाई कदापि नछाड्ने चेतावनी दिँदै प्रदेश सरकारले अवैध रूपमा सञ्चालनमा रहेका संस्थाहरूमाथि कडा कारबाही गर्ने बताए।
लालबन्दीका स्थानीयवासीहरुले मुख्यमन्त्रीको यो कदमको स्वागत गर्दै अव्यवस्थित स्वास्थ्य सेवा बन्द गर्नु सकारात्मक पहल भएको प्रतिक्रिया दिएका छन्।
मुख्यमन्त्री सिंहले यसअघि होलीको पुर्व संध्यामा सदरमुकाम मलंगवाका विभिन्न स्वास्थ्य संस्थाहरुको पनि अनुगमन गरिसकेका छन् । अनुमति बगैर संचालन भइरहेका अस्पताल तथा क्लिनिकहरुलाई बन्द गर्ने निर्देशन दिइएपनि ती स्वास्थ्य संस्थाहरु यथावत संचालन भइनै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: