
अजिता चौधरी—
सर्लाही, माघ २
सर्लाहीको हरिपुरमा थारु सम्बत २६४८ को अवसरमा सातौ तिला संक्रान्ति माघी महोत्सव २०८१ सुरु भएको छ । हरिपुर नगरपालिका वडा नम्बर ७, पचगछियामा बुधबार एक कार्यक्रमका बिच महोत्सवको उद्घाटन गरिएको हो ।
थारु समुदायको कला सस्कृती संरक्षणको उदेश्य लिएर वर्षेनी माघे संक्रान्तिको अवसर पारेर महोत्सव आयोजना हुदै आएको छ । माघ २ गतेदेखि ४ गते तीन दिनसम्म चल्ने यस महोत्सवमा थारु समुदायको भेष भुषा, कला, संस्कृतिको बिषेश रुपमा प्रदर्शन गरिन्छ । महोत्सव स्थलमा थारूहरूले पौष्टिक खानाका रूपमा प्रयोग गर्दै आएको गङ्गटो, माछा, घोँगी जस्ता विभिन्न थारु परिकारका स्टलहरुका साथै थारु परम्परा झल्काउने मुर्तिहरु पनि अवलोकनको लागि राखिएको छ ।
थारूहरू धेरैजसो कृषि पेसामा आवद्ध भएको र उनीहरू पहिले माघ महिनामा बाली भित्र्याउने गर्थे । माघमा सबै काम सकेर नयाँ अन्न खाने गरिन्थ्यो, जसका कारण थारू समुदायले प्रमुख चाडका रूपमा मनाउँदै आएको माघीलाई नयाँ वर्षका रूपमा पनि मनाउन थालिएको हो । यस्ता महोत्सवको माध्यमबाट थारु समुदायको पौराणिक कला संस्कृती संरक्षण तथा पुस्तान्तरणमा समेत टेवा पुग्ने हरिपुर नगरपालिकाका नगरप्रमुख गोपाल पंजियारले बताए ।
“नेपालके आदिवासी जनजाती के शान थारु कला संस्कृति हमर पहिचान“भन्ने नारा दिएर आयोजना भएको महोत्सवको उद्घाटन समारोहका दिन थारूहरूले पहिरनका रूपमा लगाउने परम्परागत गरगहना तथा कपडामा सजिएका महिला तथा यूवतीहरुले बाँजागाजा सहित विभिन्न कला प्रदर्शन गर्दै झाँकी र्याली निकालेका थिए
अहिलेका नयाँपुस्ताको झुकाव पश्चिमी संस्कृती तर्फ भइरहेकोले स्थानीय कला संस्कृतीहरु बिस्तारै लोप हुँदै गइरहेको छ । यस्ता मेला महोत्सवहरुको आयोजनाले परम्परागत संस्कृतीहरुको संरक्षण, सम्बर्धन तथा जगेर्ना हुनुका साथै नयाँ पुस्ताले पनि आफ्नो पुरानो कला, सस्कृती र परम्पराको बारेमा जानकारी प्राप्त गर्न सकिने भएकोले समय समयमा यस्ता मेला महोत्सवहरुको आयोजना हुनुपर्ने नगरप्रमुख पंजियारले बताए ।
महोत्सवमा सहभागी हुन आएका थारु समुदायका किशोर किशोरीहरु आफ्नो पुरानो परम्परा र संस्कृतीलाई नजिकबाट हेर्न र बुझ्न पाएको साथसाथै साथीभाई सँग रमाइलो पनि गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।थारू समुदायको लोकप्रिय माघी पर्व तथा थारु सम्बत महोत्सवको रुपमा मनाइँदै आइरहेको छ।