Loktantra Khabar National Weekly
Ad

मधेस प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत १५ हजार छोरीको बीमा सम्पन्न

लोकतन्त्र खबर
२९ कार्तिक २०८१

जनकपुरधाम । मधेस प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत हालसम्म १५ हजार ९५३ छोरीको बीमा गरेको छ। महिला सशक्तीकरण र सामाजिक सुदृढीकरणका लागि यो बीमा कार्यक्रम मधेस प्रदेशको गौरवको आयोजनामा समेटिएको छ।

प्रदेशको शिक्षा विकास निर्देशनालयका अनुसार उक्त बीमा कार्यक्रमलाई सफल बनाउन रु ५९ करोड ७५ लाख खर्च भएको छ। आर्थिक, शैक्षिक र सामाजिक हिसाबले पछाडि परेका बालिकाहरूलाई अघि बढाउन र महिला सशक्तीकरणको लागि यो बीमा गरिएको निर्देशनालयका सूचना अधिकारी किशोरी कापरले जानकारी दिए।

यस अभियानअन्तर्गत विभिन्न कार्यक्रम, जस्तै साइकल वितरण, छोरी शिक्षा बीमा, छात्रामैत्री शौचालय निर्माण, लोकसेवा तयारी कक्षा, सेनेटरी प्याड वितरण र छात्रवृत्तिको व्यवस्था गरिएको थियो। यो कार्यक्रम पूर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा सुरु गरिएको थियो। यद्यपि, हाल अभियानअन्तर्गत छोरी शिक्षा कार्यक्रम मात्र सक्रिय छ भने अन्य कार्यक्रम प्रभावकारी रूपमा सञ्चालनमा नरहेको गुनासो छ।

 

छोरी शिक्षा बीमा कार्यक्रम

छोरी शिक्षा बीमा कार्यक्रमअन्तर्गत २०७८ साल माघ १ गतेपछि जन्मिएका प्रत्येक बालबालिकाको २० वर्षका लागि बीमा गरिँदै आएको छ। यो बीमाबापत रु ३७ हजार ४५७ रकम ग्लोबल आईएमई बैंकमा मुद्दति खातामा जम्मा गरिएको छ। बीमीत किशोरीले २० वर्ष पुगेपछि रु तीन लाख प्राप्त गर्ने व्यवस्था छ। तर, बीमाको लाभ लिनका लागि सम्बन्धित किशोरीले कक्षा १२ सम्म अध्ययन पूरा गर्नुपर्ने र २० वर्षअघि विवाह नगरेको शर्त राखिएको छ।

साइकल वितरणमा अनियमितता र छानबिन

कार्यक्रम सञ्चालनका क्रममा साइकल वितरणमा अनियमितता देखिएको कारण साइकल वितरण हाल रोकिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनपछि २०७८ सालदेखि यो कार्यक्रम शिक्षा विकास निर्देशनालयमार्फत सञ्चालन हुँदै आएको छ।

मधेस प्रदेशको यो अभियानले प्रदेशका बालिकाहरूको शैक्षिक र सामाजिक सुदृढीकरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: