महोत्तरीको रामगोपालपुरका वडा अध्यक्षको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
जिल्लाको बर्दिबासबाट रामगोपालपुरतर्फ मोटरसाइकलबाट आउने क्रममा ९ भदौँमा रामगोपालपुर नगरपालिका–२ का वडाअध्यक्ष मुकेश यादवको रहस्यमय अवस्थामा शव फेला परेको थियो । महोत्तरी प्रहरीले औरही नगरपालिका –७ स्थित भोइल टिमकियाका सञ्जीव झा र दिलीप मण्डललाई पक्राउ गरेको छ ।
वडाअध्यक्ष यादवको रहस्यमय मृत्युमा संलग्न दुई जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तु लाल प्रसाद जैसवारले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि कर्तव्य ज्यान मुद्दामा म्याद थप गर्न महोत्तरी जिल्ला अदालतमा पेश गरिएको छ ।
वडाअध्यक्ष यादवको हत्या वा दुर्घटनामा मृत्यु भन्ने विषयमा जिल्लामा सरोकारवालाबीच मत विभाजित छ । जिल्लाका वडाअध्यक्षहरूले यादवको हत्या भएको दाबी गर्दै कारबाहीका लागि माग गर्दै आएका छन् । वडाअध्यक्ष यादवको मृत्युबारे सीआइबीले समेत अनुसन्धान गरिरहेको छ ।