
विद्यानन्द राय—– सर्लाही,साउन १६
सर्लाही भन्सार कार्यालयले मलंगवा स्थित विभिन्न गोदाममा छापा मारेर लुकाइछिपाइ राखेको १८ लाख भन्दा बढीको अवैध सामान नियन्त्रणमा लिएको छ।
भन्सार कार्यालयको नेतृत्वमा गएका नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले मलंगवा –९ बालमन्दिर चौक स्थित मासु गल्ली जाने बाटोको छेउमा रहेको एक गोदाममा छापा मारेर साडी ,कुर्ता सुलवार, रेडिमेड कपडा तथा विभिन्न फैन्सीका सामानहरु गरि जम्मा १६ लाख २० हजार ८ सय रुपैयाँ भन्सार मुल्य बराबरको अवैध सरसामान बरामद गरि नियन्त्रणमा लिएको छ।
त्यसैगरी मलंगवा–१० स्थित पुरानो बसपार्क नजिक रहेको अर्को एक गोदामबाट पनि बिजुली तथा विभिन्न इलेक्ट्रोनिक्सका सामानहरु गरि जम्मा २ लाख २२ हजार ४ सय भन्सार मुल्य बराबरको अवैध सामान बरामद गरि नियन्त्रणमा लिएको छ।
छापा मार्न गएको ती दुवै गोदामका मालिकहरु उपस्थित नभएकाले स्थानीय जनप्रतिनिधि ,नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रत्यक्ष निगरानीमा ताल्चा फोडेर सामानहरु नियन्त्रणमा लिएको भन्सार अधिकृत धर्मेन्द्र प्रसाद महतोले जनाएको छ।