Loktantra Khabar National Weekly
Ad

हरिपुरको इन्द्रपुर खानेपानी आयोजना बोर्डमा हस्तान्तरण

लोकतन्त्र खबर
१० असार २०८१

मनोज यादव—
सर्लाही,असाढ ९

सर्लाहीको हरिपुर नगरपालिका वडा न-८ इन्द्रपुरमा पुननिर्मित तथा स्तरबृद्धि गरिएको इन्द्रपुर खानेपानी आयोजना हरिपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ ।

शुक्रवार आयोजनाको उद्घाटन गर्दै सोही कार्यक्रमका बिच उक्त खानेपानी आयोजना बोर्डलाई हस्तान्तरण गरिएको हो।

एक सय पचास वटा धारा वितरण गर्ने योजना रहेकोमा तत्काल एक सय वटा धारा वितरण गरिएको उक्त आयोजना बोर्डमा हस्तान्तरण भएपछि उपभोक्ताले न्यूनतम शुल्कमा खानेपानी उपभोग गर्न पाउने खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डका अध्यक्ष एवं सोही वडाका वडाअध्यक्ष हरि बहादुर थापाले जानकारी दिनुभयो ।

यसअघि इन्द्रपुर खानेपानी आयोजनाले संचालन गर्दै आएको उक्त आयोजना बोर्डलाई हस्तान्तरण भएपछि खानेपानी आयोजनासँग सम्बन्धित जानकारी तथा सूचनाहरु खानेपानी आपूर्ति प्रणालीसँग सम्बन्धित भौतिक सामाग्रीहरु सहित अन्य सम्पूर्ण व्यवस्थाहरु २०८१ साल असाढ ७ गते बाट बोर्डको मातहतमा गएको अध्यक्ष थापाले जानकारी दिनुभयो।

आयोजना हस्तान्तरण सँगै बोर्डलाई खानेपानी आयोजना क्षेत्र विस्तार तथा वृहत्तर हितका लागि सबै सरोकारवालाहरु सँग निकट सहकार्य तथा समन्वय गर्न,परियोजना अन्तर्गत बनेका संरचनाहरुको सुरक्षा तथा व्यवस्थापन र नियमित मासिक महसुल बुझाउने सबै ग्राहक घरधुरीहरुमा पिउने पानी नियमित आपुर्ती गर्न लगायतका दायित्वहरु समेत बुझाइएको छ।

नेपाल सरकारको ५ लाख तथा दातृ संस्था अक्सफाम र बागमती सेवा समाज नेपालको ६३ लाख ४३ हजार ४४८ रुपैयाँ र जनसहभागिताको २ लाख १० हजार रुपैयाँको लागतमा उक्त खानेपानी आयोजना सम्पन्न गरिएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मुकुन्द प्रसाद अधिकारीले जानकारी दिनुभयो।

पुननिर्मित आयोजनाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि एवं नगर प्रमुख गोपाल पंजियाले पानीको श्रोत व्यवस्थापनमा ध्यान दिने समय आएको बताउनुभयो ।

स्थानीय वीर बहादुर विश्वकर्माले दान गरेको १ कठ्ठा जग्गामा निर्माण भएको उक्त आयोजनाको सम्पूर्ण निर्माणकार्य सन् २०२२ मा सुरुभई सन् २०२४ मा निर्माण सम्पन्न भएको हो।

पानी टंकीको कुल क्षमता २० घन मिटर रहेको छ भने पाइप लाईनको लम्बाई ७३ किलोमिटर रहेको छ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अक्सफामका सुनिल आचार्य,विजय थापा,बागमती सेवा समाजका भरत कुमार कार्की,स्थानीय खानेपानी उपभोक्ता लगायतको उपस्थिति रहेको थियो।

सोही अवसरमा जग्गादता विश्वकर्मालाई नगरप्रमुख पंजियारले दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गर्नुभएको थियो।

कार्यक्रमको संचालन किशोर चन्द्र उपाध्यायले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: