Loktantra Khabar National Weekly
Ad

१० औँ राष्ट्रिय खेलकुदका लागि व्यवस्थापन र संरचना अभावको चिन्ता

लोकतन्त्र खबर
२८ जेष्ठ २०८१

खेलकुद मन्त्री भन्छन्– स्रोत जुटाउन पहल गर्छु, सबै खेल खेलाउन ‘प्लानिङ’ गर्नुपर्ने देखियो

सुर्खेत । आगामी मङ्सिरमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल पूर्वाधारको स्थिति बुझ्न युवा तथा खेलकुद मन्त्रालयको टोली सुर्खेत आइपुगेको छ । उक्त टोलीले सोमबार बिहान वीरेन्द्रनगर स्थित निर्माणाधीन गौरवको आयोजना रङ्गशालाको अनुगमन तथा निरीक्षण गरेको छ ।

निरीक्षणका क्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कर्णालीले पहिलो पटक यति ठुलो संरचना बनाइरहेको भन्दै प्रशंसा गरे ।  ‘कर्णालीले जमर्को गरेर १० औँ राष्ट्रिय खेलकुदलाई महाउत्सव मनाउन अपिल गर्दछु,’ उनले भने, ‘यही अवस्थामा हुन्छ कि हुन्न भन्नु भन्ने आशङ्का पनि छ । म भन्छु यो प्रश्न नै गलत छ । १० औँ राष्ट्रिय खेलकुद हुन्छ, गर्नुपर्छ ।’

संरचना निर्माणको सन्दर्भमा सङ्घले बजेट दिन नसकेको उनले स्वीकार गरे । उनका अनुसार केन्द्रले १० करोड छुट्ट्याउन खोजेको थियो तर बजेट अभावका कारण प्रतियोगितामा मात्रै केन्द्रित गरिएको छ ।  खेलकुद आयोजनाका लागि आयोजना गर्न ६० करोड विनियोजन गरिएको छ ।

तथापि उक्त आयोजना गर्नका लागि पूर्वाधार निर्माणको क्षेत्रमा सङ्घीय सरकारले न बजेट छुट्टाएको छ न कुनै आयोजना नै ।  मन्त्री श्रेष्ठले भने, ‘पूर्वाधारका लागि रकम अलिकति सङ्घबाट पनि बजेट पठाउन पाएको भए भन्ने सोचेको थिएँ, कर्णाली सरकारले आफ्नो कामहरूको बजेट काटेर यहाँ लगानी गरिरहेको छ । तर भएन । तैपनि केही बिग्रिएको छैन ।’

प्रतियोगिताको लागि थप बजेट माग गरिएको पनि उनले बताए । साथै उनले अन्य स्रोतहरू जुटाउन आफूले पहल गर्ने बताए ।  यो रङ्गशाला बाहेक कर्णालीमा अन्य खेल पूर्वाधारको अवस्था निकै कमजोर छ । अहिले बनिरहेको रङ्गशालामा कम्तीमा १२–१५ वटासम्म खेल खेलाउन सकिने प्रदेश खेलकुद विकास परिषद्को आकलन छ ।

अन्य खेलहरू कहाँ खेलाउने भन्ने चिन्ता छ । खेलकुद मन्त्री श्रेष्ठले भने, ‘नवौँ राष्ट्रिय खेलकुदमा ३६ वटा खेलहरू खेलाइएको थियो । यो रङ्गशालामा १६÷१७ वटा खेलाउन सकिन्छ कि भन्ने छ । संरचनाका लागि ‘प्लानिङ’ चाहिन्छ । यहाँ आवासको (व्यवस्थापन) समस्या हुन्छ कि भन्ने देखियो ।’

उनका अनुसार १० हजार जति मान्छेका लागि आवासको चुनौती देखिएको छ । त्यसका लागि खेल अलि लामो खेलाउन सकिन्छ कि भन्ने सोचिरहेको उनले बताए ।  ८ औँ र नवौँ प्रतियोगिताका क्रममा संरचना निर्माणमा केन्द्र सरकारले सहयोग गरेको भनिए पनि कर्णालीलाई सहयोग गरेको छैन ।

अहिले वीरेन्द्रनगरमा बनिरहेको रङ्गशाला प्रदेश सरकार आफैँले बनाउन थालेको एक मात्र ‘गेम चेञ्जर’ आयोजना हो । उक्त रङ्गशाला निर्माणमा केन्द्र सरकारले कुनै सहयोग गरेको छैन ।  यस्तै अन्य खेल पूर्वाधारमा पनि सङ्घीय सरकारले सहयोग गरेको छैन । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय नजिकै आइरहँदा पनि केन्द्रबाट कुनै पहल नभएको प्रदेश खेलकुद विकास परिषद्को गुनासो छ ।

खासमा प्रतियोगिता राष्ट्रिय खेलकुद विकास परिषद्को आयोजनामा हुने हो । यद्यपि केन्द्रबाट कुनै सहयोग प्राप्त नभएपछि कर्णाली आफ्नै बलले काम गरिरहेको छ ।  अन्य जिल्लाहरूमा पनि संरचना बनिरहेका छन् तर, कतै बजेट अभाव छ त कतै काम सुरु नै हुन सकिरहेको छैन । जसका कारण १० औँ राष्ट्रिय खेलकुद हुँदैन कि भन्ने आशङ्का गरिएको छ ।

मन्त्री श्रेष्ठले अहिले बजेटमा नै १० औँ राष्ट्रिय खेलकुद भनेर सम्बोधन भएको कुराले उत्साह थपेकाले आशङ्कालाई मेटेको बताए ।  प्रदेश खेलकुद विकास परिषद्का अनुसार निर्माणाधीन रङ्गशालाको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले ०७८ मङ्सिर २० मा रङ्गशालाको शिलान्यास गरेका थिए । १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ लागत रहेको रङ्गशाला निर्माणको जिम्मा पाएको एमएसी–जीएसएल कम्पनीले तोकिएकै समयमा काम सम्पन्न गरिसक्ने दाबीका साथ काम गरिरहे पनि असारसम्म जाने देखिन्छ । निर्माणको काम ०८१ जेठ ११ गतेसम्म सकिने सम्झौता भएको थियो ।

यद्यपि अझै २० प्रतिशत जति काम गर्न बाँकी छ । अत्याधुनिक प्रविधिको प्रयोगमा निर्माण भइरहेको रङ्गशालामा दर्शक क्षमता १० हजार छ । विकासका दृष्टिकोणले निकै पछि परेको कर्णालीमा पहिलोपटक १० औँ राष्ट्रिय खेलकुद हुनु अवसर मानिएपछि चुनौती उत्तिकै छ । संरचनादेखि हरेक हिसाबले कर्णाली सङ्घबाट हेपिएको यहाँका सरोकारवालाहरू बताउँछन् ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्जाल भन्छन्, ‘अन्य जिल्लाको खेलकुद पूर्वाधारका लागि हामीले सुरुमा जुन प्लान बनाएका थियौँ, त्यो अनुसार न सङ्घीय सरकारले बजेट दियो, न निर्माणाधीन पूर्वाधारको कामले नै गति लिन सक्यो ।’

कर्णालीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अधिकांश सांसदहरूले बजेटको अभाव हुन नदिने वचन दिए पनि केन्द्रबाट कुनै सहयोग भएको छैन । जसका कारण १० औँ संस्करणको आयोजना गर्न कर्णालीलाई उत्तिकै चुनौतीपूर्ण अवस्था छ ।  रातोपाटी

प्रतिक्रिया दिनुहोस्: