Loktantra Khabar National Weekly
Ad

फ्रान्समा संसद भंग गरेर आकस्मिक चुनाव घोषणा, मतदान दुई चरणमा

लोकतन्त्र खबर
२८ जेष्ठ २०८१

काठमाडौं  जेठ २८, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले संसद भंग गर्दै आम निर्वाचन घोषणा गरेका छन् । राष्ट्रपति म्याक्रोले यही जुन महिनाको अन्तिममा चुनाव गराउने जनाएका छन् ।

मतदान दुई चरणमा हुने छ । पहिलो चरण ३० जुनमा र दोस्रो चरण ७ जुलाईमा मतदान हुनेछ ।

सर्वेक्षण अनुसार राष्ट्रपति म्याक्रोका प्रतिद्वन्द्वी मरीन ले पेन नेतृत्वको नेशनल रेली पार्टीले ३२ प्रतिशत मत ल्याउने अनुमान छ । राष्ट्रपति म्याक्रोको पार्टी रेनेसाले भने १३ प्रतिशत मत मात्रै पाउने सर्वेक्षण छ ।

ले पेन यसअघि दुई पटकसम्म म्याक्रोसँग प्रतिस्पर्धा गरे पनि पराजित भएकी थिइन् । संसदीय चुनावको मिति घोषणा हुनासाथ तत्काल प्रतिक्रिया सार्वजनिक गर्दै उनले आफ्नो पार्टी सत्तामा आउन तयार रहेको बताएकी छन् ।

युरोपेली युनियनमा फ्रान्सको भोटिङ सकिनासाथ र मत सर्वेक्षणको नतिजा सार्वजनिक हुनासाथ राष्ट्रपति म्याक्रोले टेलिभिजन सम्बोधन मार्फत् संसदीय चुनावको मिति घोषणा गरेका हुन् । युरोपेली संघको चुनावमा ले पेन नेतृत्वको अति दक्षिणपन्थी दल भनेर चिनिने नेशनल रेलीले म्याक्रोको मध्यमार्गी गठबन्धनलाई परास्त गरेको थियो ।

आफ्नो दोस्रो कार्यकाल पूरा हुन दुई वर्ष बाँकी छँदै राष्ट्रपति म्याक्रोले अप्रत्यासित रुपमा चुनावको मिति घोषणा गरेको बीबीसीले जनाएको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: