लोकतन्त्र समाचारदाता—
सर्लाही,जेठ १३
देशभरसहित सर्लाहीमा पनि पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान २०८१ सुरु भएको छ।
आइतवार मलंगवा नगरपालिका वडा न-९ स्थित सगरमाथा आधारभुत आवासीय विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई खोपको डोज लगाएर आइभिपी खोप अभियानको सुभारम्भ गरिएको हो।
जिल्लाको २० वटा पालिकाहरु मध्ये पहिलो चरण अन्तर्गत जेठ १६ गते देखि जेठ २१ गते र दोस्रो चरण अन्तर्गत जेठ २४ गतेदेखि जेठ २९ गतेसम्म आई.भि.पी खोप संचालन हुने स्वास्थ्य कार्यालयका प्रमुख नवल किशोर झाले जानकारी दिए।जिल्लाभरीको लागि ४२ हजार ४ सय डोज खोप उपलब्ध भएको प्रमुख झाले जानकारी दिए।
आईपीभी खोप नेपालमा २०७१ असोज महिनादेखि शुरु भएको थियो । तर २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिका यो खोप लगाउन छुटेका थिए ।
अभियानमार्फत छुटेका ती बालबालिकालाई आईपीभी खोप दिन लागिएको स्वास्थ्य प्रमुख झाले बताए ।
यो खोप लगाउन छुट भएका बालवालिकाहरुलाई एक मात्रा आई.पि.भी.खोप दिएर ती बालवालिकामा पोलियो रोगको विरुद्ध प्रतिरोध क्षमता कायम गर्नु आई.पि.भी.खोप अभियानको लक्ष रहेको उनले बताए ।
दुई चरणमा संचालन हुने यस अभियानका लागि ४२ लाख रुपैयाँ उपलब्ध भएको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ।
पोलियो रोग पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो । यो रोग लागेमा विभिन्न लक्षणसहित पक्षघात हुने र ज्यानैसमेत जान सक्छ ।
पोलियो विषाणुले मुख्य गरी साना बालबालिकालाई सङ्क्रमित बनाउने गर्छ । पोलियोको भाइरस घाँटी र आन्द्रामा हुन्छ ।
सङ्क्रमित एक व्यक्तिबाट अर्कोमा पनि फैलिन्छ । रोग लागिसकेपछि उपचार छैन, त्यसैले पोलियो रोगविरुद्धको खोप लगाउनु आवश्यक रहेको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा.झा ले बताएका छन् ।
सरकारले अबको दुई वर्ष अर्थात् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।
त्यसैअनुसार नियमित खोप कार्यक्रम अन्तर्गत जन्मेदेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई पोलियो खोप दिने गरिएको छ ।
पोलियो थोपा मुखबाट खुवाइन्छ भने आईपीभी सुईबाट दिने गरिन्छ ।
आईपीभी खोपबाट सामान्य दुखाइ, सुई लगाएको ठाउँमा सुन्निने वा हल्का ज्वरो आउनेबाहेक बालबालिकामा अरू कुनै असर नगर्ने र सुरक्षित समेत भएकाले ढुक्क भएर आफ्ना बालबालिकालाई खोप लगाउन डा.झाले सल्लाह दिएका छन् ।
आइभिपी खोप अभियानको उद्घाटन कार्यक्रममा मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र प्रसाद यादव,स्वास्थ्य कार्यालय प्रमुख डा.झा ,सगरमाथा विद्यालायका संचालक जोसेफ क्षेत्री लगायतको उपस्थिति रहेको थियो।

