Loktantra Khabar National Weekly
Ad

एनसेलले ‘सधैं अन’ योजना सार्वजनिक, डेटा सकिएपछि मोबाइल ब्यालेन्स नकाटिने

लोकतन्त्र खबर
२ जेष्ठ २०८१

एनसेलले ‘सधैं अन’ नामक नयाँ योजना सार्वजनिक गरेको छ। कम्पनीले बुधबार एक कार्यक्रम आयोजना गर्दै नयाँ योजना सार्वजनिक गरेको हो।

‘सधैं अन’ योजनाअन्तर्गत एनसेलले मोबाइल डेटा, भ्वाइस प्याक तथा एसएमएसमा नयाँ प्याकहरू सार्वजनिक गरेको हो।

योजनाअनुरुप अब जम्मा ९८ रूपैयाँदेखि एनसेलको प्याकहरू खरिद गर्न सकिनेछ। ९८ रूपैयाँमा ग्राहकहरूले ९८ मिनेटको भ्वाइस, ९८ वटा एसएमएस, ०.५० जिबी डेटा प्याक र त्यसमा एक जिबी सोसल (युट्युब, फेसबुक र इस्टाग्राम प्रयोगको लागि) प्याक प्राप्त गर्न सकिनेछ।

यस्तै, ९९ रूपैयाँमा ४९ मिनेटको भ्वाइस, ४९ एसएमएस, दुई जिबी प्याक र एक जिबी सोसल प्याक खरिद गर्न सकिन्छ। यी दुवै प्याक सात दिनको लागि मान्य हुनेछ। यसलाई कम्पनीले ‘बेसिक प्याक’ अन्तर्गत राखेको छ।

कम्पनीले सात दिनदेखि २८ दिनको लागि मान्य हुने प्याकहरू सार्वजनिक गरेको हो।

कम्पनीले २८ दिनलाई मान्य हुनेगरी ‘बेस्ट प्याक’ सार्वजनिक गरेको छ। यसअन्तर्गत तीन सय ९९ रूपैयाँ, चार सय ९९ रूपैयाँ र पाँच सय ९९ रूपैयाँमा प्याक खरिद गर्न सकिन्छ।

तीन सय ९९ रूपैयाँमा ग्राहकले ८ जिबी डेटा प्याक, ३९९ मिनेट भ्वाइस प्याक, ३९९ एसएमएस र ४ जिबी सोसल प्याक प्राप्त गर्न सक्छन्। चार सय ९९ रूपैयाँमा १२ जिबी डेटा प्याक, ४९९ मिनेट भ्वाइस प्याक, ४९९ एसएमएस र ५ जिबी सोसल प्याक प्राप्त गर्न सकिन्छ।

यस्तै, पाँच सय ९९ रूपैयाँमा २० जिबी डेटा प्याक, ५९९ मिनेट भ्वाइस प्याक, ५९९ एसएमएस र ६ जिबी सोसल प्याक प्राप्त गर्न सकिने एनसेलले जनाएको छ।

कम्पनीले ‘बेसिक’ र ‘बेस्ट’ सँगै ‘अनलिमिटेड प्लान’हरू पनि सार्वजनिक गरेको छ। यसअन्तर्गतका प्याकहरू २८ दिनलाई मान्य हुनेछ। अनलिमिटेड प्लानअन्तर्गतको सात सय ९९ रूपैयाँ प्याकमा अनलिमिटेड भ्वाइस, २५ जिबी डेटा र ८ जिबी सोसल डेटा प्याक पाउन सकिन्छ।

यस्तै, नौ सय ९९ रूपैयाँमा अनलिमिटेड भ्वाइससँगै ५० जिबी डेटा र १० जिबी सोसल डेटा प्याक पाउन सकिन्छ।

एक हजार चार सय ९९ रूपैयाँमा भने अनलिमिटेड भ्वाइससँगै १०० जिबी डेटा र १५ जिबी सोसल डेटा प्याक पाउन सकिन्छ।

कार्यक्रममा बोल्दै एनसेलका ब्रान्ड तथा मार्केटिङ प्रबन्धक अनुशा प्रधानांगले यसभन्दा अघिको एनसेलको ६३ वटा विभिन्न प्लानहरूलाई परिमार्जन गर्दै जम्मा २० वटा प्लान/प्याक सार्वजनिक गरेको बताइन्। ग्राहकहरूको सहजताका लागि एनसेलले नयाँ योजनासहित प्याकहरू सार्वजनिक गरेको उनले बताइन्।

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जाब्बोर कायुमोभले एनसेलले नेपालको डिजिटल भविष्यप्रति दीर्घकालिन योजना र चासो राखेको बताए। उनले एनसेलको नयाँ योजना ‘सधैं अन’ ले डिजिटल नेपाल अभियानलाई समर्थन गर्ने विश्वास व्यक्त गरे।

एनसेलको ‘सधैं अन’ योजनाअन्तर्गतका प्याकहरू लिन ग्राहकले *१२३# डायल गरी आफूलाई उपयुक्त लाग्ने प्याक खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार ‘सधैं अन’ योजनअन्तर्गतका प्याकहरू खरिद गरेर प्रयोग गर्दा प्याक सकेपछि मोबाइल ब्यालेन्सबाट पैसा काट्दैन। अर्थात्, प्याक सकेपछि जानकारी गराइन्छ। तर, छुट्टै ब्यालेन्स काटिँदैन।

यदी अघिल्लो महिना लिएको प्लानबाट कुनै पनि प्याक बाँकी छ भने नयाँ प्यान लिँदा अघिल्लो महिना बाँकी भएका प्याकहरू पनि जोडिन्छन्।

हाल प्रिपेड ग्राहकहरूले मात्रै ‘सधैं अन’ योजनाको फाइदा लिन सक्नेछन्। कम्पनीले केही साताभित्रै पोस्टपेड ग्राहकहरूको लागि पनि यो सुविधा सार्वजनिक गर्ने बताएको छ।

यससँगै कम्पनीले दूरसञ्चार सेवा अहिलेको समयमा अत्यावशेक भएको बताउँदै ग्राहकहरूको सहजताका लागि नयाँ-नयाँ योजनाहरू सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: