Loktantra Khabar National Weekly
Ad

कास्कीमा चेक बाउन्सका मुद्दाले हैरान

लोकतन्त्र खबर
२ जेष्ठ २०८१

पोखरा । गत वर्ष कास्कीमा चेक बाउन्सका ५ सयभन्दा बढी मुद्दा दर्ता भए । आर्थिक वर्ष २०७९/०८० मा ५१७ वटा मुद्दा दर्ता भएको प्रहरी रिपोर्ट छ ।

चालु आर्थिक वर्षको १० महिनामै चेक बाउन्सका मुद्दा बढेर ७१७ वटा पुगेको छ । अझै २ महिनामा मुद्दा बढ्ने प्रहरीको भनाइ छ ।

अघिल्लो आर्थिक वर्षमा २९४ जनालाई कानुन अनुसार मुद्दा चलाइएको थियो । चालु वर्षमा २२९ जना विरुद्ध मुद्दा चलेको छ । त्यसमा ठाडो उजुरीको सङ्ख्या भने गणना गर्नै नसक्ने अवस्था रहेको प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।

‘ठाडो उजुरी त कति पर्छन् पर्छन् । दिनमै २५ भन्दा बढी उजुरी आउँछ,’ उनले भने, ‘सबै दर्ता र अनुसन्धान गर्न हामीसँग पर्याप्त जनशक्ति नै छैनन् ।’

कास्की प्रहरीमा दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढी ४० प्रतिशत उजुरी बैंकिङ कसुर सम्बन्धी छन् ।

एउटै व्यक्तिसँग करोडौँ रकमसम्मको कारोबार भएको छ । केही व्यक्तिहरू हिरासतमा पुगेका पनि छन् । कतिपय मुद्दा मिलापत्र गरिएको छ भने अधिकांश कानुनी प्रक्रिया अनुसार मुद्दामा लगिएको थापाले बताए ।

‘सुरुमा चेक बाउन्सको हकमा ठाडो उजुरी लिन्छौँ । पीडकलाई बोलाउँछौँ,’ उनले भने, ‘बोलाउँदा आए भने मिलापत्र भएका छन् । मिलापत्र नहुने अवस्थामा मुद्दा चल्छ ।’

चेकबाउन्स हुने अधिकांश मुद्दा घरजग्गा, गाडी, वैदेशिक रोजगारी र मिटरव्याजसँग जोडिएका छन् । सहकारीका चेकहरू बाउन्स भएका घटना पनि धेरै छन् । आजभोलि व्यापारिक कारोबारमा चेक बाउन्स हुने क्रम बढेको थापाले सुनाए ।

चेक बाउन्सका कारण प्रहरीमात्रै होइन, पोखराका व्यापारी र व्यवसायीहरू पनि आजित भएका छन् । त्यसैले पोखरा उद्योग वाणिज्य सङ्घले चेक अनादर (बाउन्स) र यसका समस्या तथा समाधानबारे उपायको खोजी गर्न अन्तरक्रिया नै गरेको छ ।

अध्यक्ष पवनकुमार प्रजापतिले चेक बाउन्सका घटना बढ्दा त्यसको मारमा आफूहरू परेको बताए । ‘अहिले बजार सुस्ताएको छ । नगदभन्दा उधारो कारोबार बढी हुन्छ । धेरैले चेकबाट कारोबार गरेका हुन्छन्,’ उनले भने, ‘चेक साट्न पठाउँदा रकम नभएर फर्किनुपर्छ । यसमा राज्य नै संवेदनशील हुनुपर्छ ।’

चेक बाउन्स हुँदा कानुनी उपचार खोज्ने प्रक्रिया सिक्न अन्तरक्रिया गरिएको प्रजापतिले बताए ।

बैंकर्स एसोसियन गण्डकीका संयोजक सूर्यप्रसाद तिवारीले चेक बाउन्सको घटनाले बैंकसम्म पनि हैरानी बढाएको बताए । ‘यसबाट बच्न उधारो कारोबार नगर्ने हो । विद्युतीय भुक्तानीको विकास भएको छ । सकेसम्म तत्कालै भुक्तानी कारोबार गर्नुपर्छ,’ उनले भने, ‘बैंकमा चेक नसाटिएपछि कानुनी प्रक्रिया त चल्छ तर पैसा पाउने ज्ञारेण्टी हुँदैन ।’

उनले अनधिकृत काम नगर्न पनि सुझाएका छन् । चेक काटिएको ६ महिनाभित्र ३ पटकसम्म साट्न जाँदा पनि नसाटिएपछि उक्त चेक बाउन्समा गणना हुन्छ । बैंकले खातामा पैसा नभएको जानकारी सहितको चिठी दिएपछि प्रहरीले उजुरी लिन्छ । चेक बाउन्स भएपछि सम्बन्धित व्यक्तिलाई बैंकको कालोसूचीमा राख्ने, चल–अचल सम्पत्ति रोक्का गर्ने लगायत प्रक्रिया छ ।

बाउन्सका घटना कम गर्न नागरिक स्वयं सचेत हुनुपर्ने प्रहरीको सुझाव छ । ‘सबै ठाउँमा डण्डा लगाएर मात्रै अपराध घट्दैन । नागरिकहरु सचेतमात्रै भए पनि धेरै अपराध न्यून हुन्छन्,’ प्रहरी प्रमुख थापाले भने, ‘अपराध घटाउन व्यक्ति जिम्मेवार हुनुपर्छ । उत्तरदायी हुनुपर्छ ।’

बैंकिङ कसुरका घटना हुन नदिन प्रहरीले पनि सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: