Loktantra Khabar National Weekly
Ad

आजदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

लोकतन्त्र खबर
१६ बैशाख २०८१

काठमाडौँ । आजदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि आज खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सरकारले आमऔषधि सेवन अभियान सञ्चालन गरेर  (सबैलाई औषधि खुवाउने गरी) दुईहप्ते अभियान सञ्चालन गर्न लागेको हो ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले ती सात जिल्लाका एकसय एक पालिकाका करिब ५० लाख ७८ हजार जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने बताए ।

सरकारले यसअघि ती सात जिल्लामा आमऔषधि सेवन अभियान सञ्चालन भए पनि सफल नभएपछि पुनः अभियान सञ्चालन गरेको हो । दुई वर्षदेखि माथिका सबै उमेर समूहका सर्वसाधारणलाई औषधि खुवाइने छ ।

सरकारले समुदायस्तरमा सङ्क्रमण रोक्नका लागि ती जिल्लामा सबैलाई औषधि खुवाउन थालेको हो । यसअघि ५३ जिल्लामा समुदायस्तरको सङ्क्रमण रोकिएको छ भने दाङ, मोरङ, बाँके र कैलाली जिल्लामा प्रारम्भिक समुदायस्तरको सङ्क्रमण रोकिएको छ ।

अभियानमा यसपटक करिब छ हजार स्वास्थ्यकर्मी र पाँच हजार आठ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् । रासस

 

प्रतिक्रिया दिनुहोस्: