
लोकतन्त्र समाचारदाता—
सर्लाही,बैशाख १०
सर्लाहीको बसबरिया गाउँपालिकामा बैशाख १६ गते देखि २९ गते सम्म चल्ने हात्ती पाईले निवारण विरुद्धको आम औषधी सेवन अभियानमा २४ हजार ७ सय २५ जनालाई औषधी खुवाइने भएको छ।
परजीवीबाट संक्रमित क्युलेक्स जातीको लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोगको उन्मुलनका लागि जिल्लाको बिसवटै पालिकामा बैशाख १६ गतेदेखि यस रोग विरुद्धको औषधी खुवाइने भएको छ।
बसबरिया गा.पाले आइतवार आयोजना गरेको हात्तीपाइले रोगको आम औषधी सेवन अभियान बारे पालिका स्तरीय योजना तथा बहुनिकायहरु सँगको १ दिने गोष्ठीमा स्वास्थ्य उपसंयोजक बिजय कुमार यादवले उक्त अभियान सञ्चालन गर्ने बारे जानकारी दिइका हुन।
हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रममा तीनथरिका औषधी खुवाइँदै आएकोमा सोही अभियानलाई निरन्तरता दिइएको उपस्वास्थ्य संयोजक यादवले बताए।
उनले गतवर्ष खाइसकेका ब्यक्तिले पनि अनिवार्य रुपमा खानुपर्ने बताए ।
यसको औषधि २ बर्ष मुनिका बालबालिका, गर्भवती, छारे रोगका रोगी र औषधी खान नहुने समूहबाहेक सबैलाई खुवाइँदै छ।
हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउनका लागी पालिका अन्तर्गतका ६ वटा वडाहरुमा ३९ जना स्वास्थ्यकर्मी र ४६ जना महिला स्वास्थ्य स्वयंसेवकीकाहरु खटिने यादवले जानकारी दिए।
गतवर्ष संचालन भएको अभियानमा यस पालिकामा जम्मा जनसंख्याको ८७.५ प्रतिशत जनाले हात्तिपाइले रोग विरुद्धको औषधी खाएकोमा यसवर्ष सतप्रतिशत पुर्याउने लक्ष्य लिएको स्वास्थ्य शाखाले जनाएको छ।
यसको औषधि सेवनबाट हुने सामान्य (अवान्छीत) केही असरहरु देखीएपनि यसबाट डराउनु नपर्ने भएकोले ढुक्कका साथ औषधि सेवन गर्न स्वास्थ्य संयोजक जयलाल सहनीले यसै कार्यक्रम मार्फत सबैसँग अनुरोध गरेका छन् ।
पालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा सभा अध्यक्ष गापा प्रमुख राम सिंहासन राय,उपप्रमुख सरित कुमारी ,प्रमुख प्रशासकीय अधिकृत चुनचुन प्रसाद यादव,६ वटै वडाका वडाध्यक्ष ,कार्यपालिका सदस्यलगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।