मनोज यादव—
सर्लाही,बैशाख ५
सर्लाहीमा बैशाख १६ गते देखि २९ गते सम्म चल्ने हात्ती पाईले निवारण विरुद्धको आम औषधी सेवन अभियानमा ८ लाख २४ हजार ६ सय ७१ जनालाई औषधी खुवाइने भएको छ।
परजीवीबाट संक्रमित क्युलेक्स जातीको लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोगको उन्मुलनका लागि सर्लाहीसहित मधेस प्रदेशका चार वटा जिल्लामा बैशाख १६ गतेदेखि यस रोग विरुद्धको औषधी खुवाइने भएको छ।
स्वास्थ्य कार्यालय सर्लाहीले मंगलबार आयोजना गरेको हात्तीपाइले रोगको आम औषधी सेवन अभियानको जिल्ला स्तरीय पत्रकार तथा पार्टी प्रतिनिधि सँगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख डा.नवल किशोर झा ले उक्त अभियान सञ्चालन गर्ने बारे जानकारी दिइका हुन।
सर्लाहीसहित नेपालभरी हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रममा तीनथरिका औषधी खुवाइँदै आएकोमा सोही अभियानलाई निरन्तरता दिइएको कार्यालय प्रमुख झाले बताए।उनले गतवर्ष खाइसकेका ब्यक्तिले पनि अनिवार्य रुपमा खानुपर्ने बताए ।
यसको औषधि २ बर्ष मुनिका बालबालिका, गर्भवती, औषधी खान नहुने समूहबाहेक सबैलाई खुवाइँदै छ।
हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउनका लागी जिल्लाभरीमा ५ सय २५ जना स्वास्थ्यकर्मी र १ हजार ३ सय ५६ जना महिला स्वास्थ्य स्वयंसेवकीकाहरु खटिने स्वास्थ्य कार्यालय प्रमुख झाले बताए।
गतवर्ष संचालन भएको अभियानमा सर्लाही जिल्लाका ७ लाख ६२ हजार ६ सय ८४ जनाले हात्तिपाइले रोग विरुद्धको औषधी खाएको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जानकारी दिएको छ।
कार्यक्रम मार्फत कार्यालय प्रमुख झाले औषधि सेवनबाट हुने सामान्य (अवान्छीत) केही असरहरु देखीएपनि यसबाट डराउनु नपर्ने भएकोले ढुक्कका साथ औषधि सेवन गर्न अनुरोध गरे।
सरकारले नेपालमा यो हात्तीपाइले नामको रोगलाई सन् २०३० सम्ममा निवारण गरिसक्ने लक्ष्य लिएकोले यो बर्ष अनिवार्य रुपमा औषधी सेवन अभियानलाई सफल बनाउन जिल्लाका सबै सरोकारवाला लाग्नुपर्नेमा प्रादेशिक अस्पताल मलंगवा व्यवस्थापन समितिका अध्यक्ष सतिश कुमार साहले जोड दिएका छन्।
गएको बर्ष सर्लाहीमा ९५ प्रतिशत जनताले मात्र औषधी खाएका थिए।
यसवर्ष सतप्रतिशत पुर्याउने लक्ष्य लिएको कार्यालय प्रमुख डा.झाले पत्रकारहरुलाई जानकारी गराए।
कार्यक्रममा सहभागी पार्टी प्रतिनिधिहरुले गतवर्ष औषधि खाएका कुनै व्यक्तिलाई सामान्य समस्या देखिएपछि अन्य कसैले पनि औषधी खान नमानेकोले औषधी खुवाउन जनताको घरदैलोमा पुग्ने स्वास्थ्यकर्मी र स्वयंसेविकाहरुलाई कस्तो र कुन अवस्थाको बिरामी अथवा व्यक्तिलाई औषधी खुवाउने तथा नखुबाउने भन्ने विषयको जानकारी गराएर मात्र पठाउन सुझाव दिएका थिए।
पत्रकार महासंघ सर्लाहीका जिल्ला अध्यक्ष टंक क्षेत्रीले अभियानलाई सफल बनाउन पत्रकारहरुको समेत साथ रहेको बताए।
स्वास्थ्य कार्यालयको सभाहलमा सम्पन्न भएको कार्यक्रममा सभा अध्यक्ष कार्यालय प्रमुख डा.झा, प्रमुख अतिथि प्रा.अ.मलंगवा व्यवस्थापन समिति अध्यक्ष सतिश साह,क्षयकुष्ठ अधिकृत बलिराम यादव,पत्रकार महासंघ सर्लाही शाखा अध्यक्ष क्षेत्री ,नेकपा एमाले पार्टी प्रतिनिधि सुरेश कुमार साह,नेकपा माओवादी पार्टी प्रतिनिधि लक्ष्मीनारायण चौधरी लगायत राष्ट्रिय तथा जिल्लाका विभिन्न संचार संस्थामा कार्यरत संचारकर्मीहरुको उपस्थिति रहेको थियो।

