Loktantra Khabar National Weekly
Ad

धमाधम गहुँ भित्र्याउन व्यस्त सर्लाहीका किसान,कृषकहरुले उत्पादन घटेको बताए पनि अधिल्ला वर्षको तुलनामा यसवर्ष १० प्रतिशतले बढेको कृषि ज्ञान केन्द्रको दावी

लोकतन्त्र खबर
४ बैशाख २०८१

मनोज यादव—
सर्लाही,बैशाख ४

तराईको अन्न भण्डारको रुपमा चिनिदै आएको सर्लाहीका किसानहरुलाई यतिबेला खेतमा पाकिसकेको गहुँ बाली भित्र्याउन चटारो छ ।

सर्लाहीका मात्र नभइ तराईका अन्य जिल्लाका किसानहरु पनि गहुँ काट्ने, थ्रेसिङ गर्ने र थ्रेसिङ गरेर झरेका बाली भित्र्याउन हतारिएका छन्।

कोही किसानहरु पाकेर सुनजस्तै पहेँलो भइसकेका गहुँ बाली काटेर खेतमा थुपारिरहेका छन् भने कोही थ्रेसर लगाएर गहुँ झारिरहेका छन् ।

गहुँ बाली भित्र्याइसके पछि खाली भएको खेतमा असारे धानको बीउ छर्नु पर्ने भएकोले यतिबेला किसानहरु धमाधम गहुँ भित्र्याउन लागिपरेका छन् ।

गहुँ झार्नका लागि किसानको खेत खेतमै थ्रेसर पुग्ने गरेको छ । यहाँका प्रत्येक खेतमा अहिले गहुँ काट्ने तथा थ्रेसर लगाउने मजदुर र किसानहरु मात्र देखिने गरेका छन् ।

यो वर्ष गहुँको उत्पादन राम्रो नभएको किसानहरु बताउँछन् । कबिलासी नगरपालिका वडा न-९ सलेमपुरका किसान राम पुकार रायका अनुसार बाली पाक्ने बेला पानी परेपनि गहुँ रोपिसके पछि पानी नै नपर्दा उत्पादन राम्रो हुन नसकेको हो।

समयमै मलको आपूर्ती र सिंचाइ सुविधा नहुँदा यस क्षेत्रमा गहुँ मात्र नभइ घान लगायतका बालीहरुमा पनि असर परेकोले हरेक वर्ष खाद्यान्नको उत्पादनमा कमि आइरहेको किसान रायले गुनासो गरे।

सर्लाही जिल्लामा धान पछिको दोस्रो प्रमुख खाद्यान्न बालीको रुपमा रहेको गहुँको खेती २९ हजार ९ सय ५ हेक्टर जग्गामा हुने गरेको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ ।

अधिल्लो वर्ष ६८ हजार ७ सय ८१.५ मेट्रिक टन गहुँ उत्पादन भएको थियो। किसानहरु यसवर्ष गहुँको उत्पादनमा गिरावट आएको बताए पनि यस वर्ष क्षेत्र अनुसार ५ देखि १० प्रतिशतले उत्पादन बढेको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख देवानन्द यादवले दावी गरेको छ।

सिँचाइको सुविधा नभएको र समयमा मल उपलब्ध नपाएको क्षेत्रमा उत्पादन केही कम भएको भएपनि अघिल्ला वर्षहरुको तुलनामा सरदर यसवर्ष गहुँको उत्पादनमा वृद्धि भएको प्रमुख यादवले बताए ।

सर्लाहीमा सिचाइको सुविधा नहुनु ,आकाशबाट पानी नपर्नु र समयमा मलको आपुर्ती नहुनु नै बाली उत्पादनमा कमी आउनुको मुख्य कारण रहेको छ। सिँचाइ सुविधा नभएको क्षेत्रका कृषकले आकाशे पानीको भरमा खेती गर्दै आएका छन् ।

जिल्लाको कुल खेतीयोग्य जमीनको ५२ हजार ४.८ हेक्टर क्षेत्रफल जमीनमा सिँचाइको सुविधा रहेको छ।सर्लाहीका किसानहरु सिंचाइको लागि स्यालो ट्युबवेल ,ईनार,मनुष्मारा नहर तथा बागमती र लखनदेही खोलाको पानी प्रयोग गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: