Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा भारतीय नम्बर प्लेटका सवारी साधन माथिको चेकजाँचमा कडाइ,ठूला नेता र जनप्रतिनिधिहरुको गाडी पनि नियन्त्रणमा लिनुपर्ने सर्वसाधारणहरुको माग

लोकतन्त्र खबर
१९ कार्तिक २०८०

मनोज यादव
सर्लाही कात्तिक १९,

नेपाल-भारत सिमानाकामा पर्ने सर्लाहीको सदरमुकाम मलंगवासहित विभिन्न शहर,बजार तथा गाउँबाट प्रहरीले कागजपत्र बिनाका भारतीय नम्बर प्लेटका मोटरसाइकलहरु नियन्त्रणमा लिन थालेको छ । अपराध नियन्त्रण र शान्तिसुरक्षामा सहजता ल्याउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सर्लाहीले निर्वाधरुपमा चल्दै आएका भारतीय नम्बर प्लेटका मोटरसाइकलसहित चारपाङ्ग्रे सवारीसाधनहरुको चेकजाँचमा कडाइ गरि नियन्त्रण लिन थालेको छ।

जिल्लाको सीमावर्ती ग्रामीणदेखि शहरी क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारीसाधनहरु छ्याप्छ्याप्ती गुड्ने गरेका छन् । भारतीय नम्बर प्लेटका सवारीसाधनमा सर्वसाधारणदेखि जिल्लाका ठूला नेता तथा जनप्रतिनिधिहरु समेत सवार रहने गरेको पाइएको छ । यस क्रममा प्रहरीले कात्तिक मसान्तको पहिलो सातादेखि हालसम्म सयौं मोटरसाइकललाई नियन्त्रणमा लिइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको छ।

यसरी सञ्चालन हुने अधिकांश मोटरसाइकलको कागजपत्र नरहेको र भन्सार सुविधा र सहुलियत बिनै खुलेआम चल्ने गरेका छन् । जिल्लामा भएका अधिकांश दुर्घटना तथा विभिन्न अपराधीक क्रियाकलापहरुमा भारतीय नम्बर प्लेटका सवारीसाधनहरुको संलग्नता रहेको पाइएकोले सवारी चेकजाँचमा कडाइ गरि उक्त कार्यलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी कमल प्रसाद धमलाले बताएको छ।

मधेस प्रदेशका अन्य जिल्लाहरुमा यसअघि नै भारतीय नम्बरका सवारी साधनहरुमा पुर्ण रुपमा रोक लगाइएकोले सर्लाहीमा पनि रोक लगाउने कि न लगाउने भन्ने विषयमा सरोकारवालाहरु सँग छलफल गर्ने तयारी गरिरहेको प्रजिअ धमलाले बताएका छन् ।

सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार र अन्य अपराधमा समेत भारतीय नम्बर प्लेटका मोटरसाइकल प्रयोग हुने गरेको र कागपत्र केही नहुँदा समस्या हुन थालेकाले कडाइ गर्न ट्राफिक प्रहरी र मातहतका सबै युनिटलाई खटाइसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीले भारतीय नम्बर प्लेटका सवारीसाधनहरु माथि कडाइ गरेर सराहनीय कार्य गरेको भएपनि यस्तो नियम सर्वसाधारणहरुको लागि मात्र नभई ठूला नेता र जनप्रतिनिधिहरु माथि पनि लागू हुनुपर्ने माग स्थानीयहरुको रहेको छ।

जिल्लाको सदरमुकाम मलंगवासहित बरहथवा,इश्वरपुर बयलबास,हरिपुर,गोडैता,बलरा,हरिपुर्वा लगायत विभिन्न सिमावर्ती ग्रामीण क्षेत्रका बासिन्दाहरुले भारतीय नम्बरको सवारीसाधन प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्: