बिधानन्द यादव–
सर्लाही वैशाख २ । पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले अनुमती नलिएका पाठ्य पुस्तकहरु विक्री वितरण तथा प्रयोग नगर्न निर्देशन जारी गरेको छ । निजी तथा सामुदायिक विधालयहरुले विधार्थीहरुलाई अनावश्यक आर्थिक बोझ दिने गरेकाले केन्द्रले त्यस्तो निर्देशन जारी गरेको हो ।
निजी तथा सामुदायिक विधालयका संचालक र प्राधानाध्यापकहरु अभिभावकबाट अतिरिक्त (बढी)नाफा कमाउने उदेशयले पाठ्यक्रम विकास केन्द्रले स्वीकृती नै नदिएको पुस्तकहरु विधालयमा चलाएर विद्यार्थीहरु माथि पुस्तकको बोझ बढाउने काम मात्र गरेका छन् ।
अधिकांश निजी विद्यालयले सरकारले निर्धारण गरेभन्दा तीन गुणा बढीसम्म पुस्तक किन्न लगाएर कलिला बालबालिकालाई पुस्तकको भारी बोकाएर असल नागरिक बनाउनुको साटो भरिया बनाउने काम मात्र गरिरहेको गुनासो अभिभावकहरुबाट समेत पटकपटक आउने गरेको छ।
केन्द्रले स्वीकृति दिएको भन्दा धेरै पुस्तक किन्न लगाएर निजी विद्यालयले विद्यार्थीको भन्दा व्यापारको बढी चिन्ता गरेको भन्दै प्रत्येक नयाँ शैक्षिक शत्रमा अभिभावकहरुबाट आलोचना हुँदै आएपनि बाध्य भएर विद्यालयले आफुखुसी तोकिदिएको पुस्तक किनेर बालबालिकालाई दिनु परेको छ ।
विगतका वर्षहरुमा निजी तथा सामुदायिक विद्यालयहरुले बढी कमिशन दिने कम्पनीको पुस्तक मात्र चलाउने गरेका थिए ।
यसपटक पनि सोही प्रवृती नदोहोरीयोस् भनेर केन्द्रले समयमै शिक्षा, विकास तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानो ठिमी भक्तपुर, र ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई, नेपाललाई अनुगमन गर्न अनुरोध गरेको छ।
जिल्ला शिक्षा तथा समन्वय इकाई सर्लाहीका सुनिल कुशवाहाले अनुमती नलिएका पाठ्यपुस्तक कुनै विधालयले आफ्नो विधालयमा लागु गरेको खण्डमा आवश्यक कार्यवाही गर्न इकाई तयार रहेको बताउनु भयो । उहाँले सोमबार शिक्षा समितीको वैठक राखेर आवश्यक सल्लाह गरिने जानकारी गराउनुभयो।

