Loktantra Khabar National Weekly
Ad

सेना द्वारा मलंगवामा आगलागी नियन्त्रण सम्बन्धी जनचेतना मुलक डेमो प्रदर्शन

लोकतन्त्र खबर
२३ चैत्र २०८०

मनोज यादव—
सर्लाही,चैत्र २३

सर्लाहीको सदरमुकाम मलंगवामा आगलागी नियन्त्रण सम्बन्धी जनचेतना मुलक डेमो प्रदर्शन गरिएको छ। प्रदेश स्तरीय संयुक्त विपद् अभ्यास “अग्नी नियन्त्रण -२०८०” को कार्यक्रम अन्तर्गत मलंगवा-१० स्थित तीन बिघे मैदानमा डेमो प्रदर्शन गरिएको हो।

श्री भैरवीदल गण,पाँचकुमारी ब्यारेक सर्लाहीको आयोजनामा बिहिवार बिहान भएको डेमो प्रदर्शनमा जिल्ला प्रशासन कार्यालय ,जिल्ला स्वास्थ्य कार्यालय,जिल्ला रेडक्रस कार्यालय ,जिल्ला प्रहरी कार्यालय ,श्री भैरवीदल गण,सशस्त्र प्रहरी बल नम्बर १० गण,डिभिजन वन कार्यालय लालबन्दी र आर.आर.पि.के तथा बागमती सेवा समाज संस्थाले सहभागीता जनाएका थिए।

सर्लाहीसहित तराईका जिल्लाहरुमा वर्षेनि आगलागीका घटना घट्ने गर्दछन्।जसबाट मानवीय र भौतिक क्षति हुनुका साथै यहाँका वन जंगल डढेलो लागेर सखाप हुने क्रम बढ्दो छ।।

डेमोको रिहर्सल अनुसार केही व्यक्तिहरू जंगलमा चुरोट सेवन गरेर त्यो त्यत्तिकै फाल्दा वनमा आगो लाग्न सुरु हुन्छ।

वनमा लागेको आगो गाउँसम्म पुग्छ र केही घर पुरै जलेर नष्ट हुन्छ। स्थानीयले हार गुहार गर्छन्। सेनालाई खबर गर्छन्।

र, सेनाको टोली आइपुग्छ। आगलागी निम्तिएको अवस्थामा नेपाली सेनाले कसरी यसको व्यवस्थापन गर्न सक्छ भन्ने तथ्यलाई मार्मिक रूपमा देखाइएको थियो।

डेमो रिहर्सलमा प्रारम्भिक उद्दार कसरी गर्ने? घटनाको चारकिल्ला कसरी सुरक्षित राख्ने, विपद्का बेला स्थानीयसँग कसरी समन्वय गर्ने? भन्ने कुराको डेमो गरिएको थियो।

त्यसैगरी घाइतेलाई कसरी प्राथमिक उपचार गर्ने?, पीडितको पुर्नस्थापना कसरी गराउने?, गम्भीर घाइतेलाई अस्पतालसम्म कसरी लैजाने? लगायतका विषय डेमोमा प्रदर्शन गरिएको थियो।

खाना पकाउन प्रयोग गरिने सिलिण्डरको रेगुलेटरमा आगो सल्केको अवस्थामा कसरी आगो नियन्त्रण गर्न सकिन्छ भनेर समेत डेमो प्रदर्शन गरिएको थियो।

पहिलो औंलाको प्रयोग, दोस्रो बाल्टिनले छोप्ने, तेस्रो, बलिरहेको ग्यास सिलिण्डरलाई तन्ना वा पर्दाले वरीपरीबाट बेरेर बाँध्यो भने आगो निभाउन सकिन्छ भनेर डेमो प्रदर्शन गरिएको थियो।त्यसैगरी ठुलो विल्डिङ्गमा लागेको आगोमा फसेका मानिसहरुको उद्धार कसरी गर्न सकिन्छ प्रदर्शन गरिएको थियो।

कार्यक्रम स्थलमा विपद्को बेला प्रयोग हुने उद्धार सामाग्रीहरुको समेत प्रदर्शन गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेश सरकारका गृह ,संचार तथा कानुन मन्त्री राजकुमार लेखी,जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह,उपप्रमुख जितेन्द्र कुशवाहा,प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला,गृह ,संचार तथा कानुन मन्त्रालयका सचिव,नेपाली सेनाका पृतनापति,वाहिनीपति,गणपति,प्रहरी प्रमुख ,सशस्त्र प्रहरी प्रमुख ,विभिन्न पालिकाका प्रमुख ,नागरिक समाज,संघसंस्थाका प्रतिनिधि,पत्रकार लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: