
लोकतन्त्र समाचारदाता—
सर्लाही,चैत्र २१
माध्यमिक शिक्षा परीक्षा(एसइई)को बुधबार भएको परिक्षामा सर्लाहीको हरिपुर्वा नगरपालिका वडा न-५ स्थित श्री केश्वर गरिब जनता माध्यमिक विद्यालयबाट दुईजना निरिक्षकहरुलाई जिम्मेवारीबाट हटाइएको छ।
पाँचौ दिनको अनिवार्य सामाजिक अध्यन विषयको परिक्षामा अनुगमनका लागि पुगेका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रामबृक्ष महतो नेतृत्वको टोलीले परिक्षाको मर्यादा कायम राख्न नसकेका उक्त विद्यालयका निरिक्षकहरु चन्दन दास र सुशील रायलाई जिम्मेवारीबाट हटाएका छन् ।
उनीहरूको ठाउँमा जगेडामा रहेका अर्का दुईजना निरिक्षकहरु खटाइएको छ।जिम्मेवारीबाट हटाइएका निरिक्षक द्वय दास र रायलाई बाँकी रहेका परिक्षाहरुमा निरिक्षक बस्न नपाउने गरि हटाइएको शिक्षा विकास तथा समन्वय इकाईका सर्लाहीका प्रमुख मगतोले बताए ।
बुधबार सम्पन्न भएको सामाजिक अध्यन विषयको परिक्षामा नियमिततर्फ ५ हजार ३५० जना छात्रा र ५ हजार २३८ जना छात्रहरु गरि जम्मा १० हजार ५८८ जना तथा ग्रेडबृद्धि तर्फ ६७ जना छात्रा र ४७ जना छात्रहरु सहभागी भएको इकाई कार्यालयले जनाएको छ।
सर्लाहीमा एसइई परिक्षाका लागि फारम भरेका १० हजार ८९६ जना परिक्षार्थीहरु मध्ये पाँचौ दिनको परिक्षामा १०८ जना छात्रा र ८६ जना छात्रा गरि जम्मा १९४ जना परिक्षार्थीहरु अनुपस्थित रहेको इकाई कार्यालयले जनाएको छ।