Loktantra Khabar National Weekly
Ad

मलंगवामा लामखुट्टेको आतंक बढ्यो ,तत्कालै नियन्त्रण गर्न पिडित नगरबासीहरु द्वारा नगरपालिकासँग माग

लोकतन्त्र खबर
२२ चैत्र २०८०

मनोज यादव—-
सर्लाही,चैत्र २२

गर्मी बढेसँगै सदरमुकाम मलंगवासहित जिल्लाभरी लामखुट्टेको आतंक बढेको छ । गर्मी मौसम शुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भए पनि मलंगवा नगरपालिका लगायत जिल्लाका अन्य पालिकाहरुले समयमा औषधि नछर्किँदा लामखुट्टेको प्रकोप बढेको हो ।

नगरपालिकाले लामखुट्टे नियन्त्रण गर्नको लागि औषधि छर्किने काम नगर्दा लामखुट्टेको टोकाइबाट मानिसमा विभिन्न प्रकारका रोग लाग्न सक्ने सम्भावना बढेको मलंगवा-८ का स्थानीयवासी कुशेश्वर प्रसाद यादवले बताए ।

सरसफाइ व्यवस्थापन र लामखुट्टेको न्यूनीकरणमा नगरपालिका अन्तर्गतका १२ वटै वडाहरु एकसाथ लाग्नुपर्ने यादवले बताए ।

नगरभित्रका नालाहरुको सरसफाइ नहुँदा लामखुट्टेको प्रकोप बढेको मलंगवा स्थित बालमन्दिर चौकमा पसल संचालन गरेका स्थानीय व्यापारी सुनिल रायले भने। केही वर्ष अगाडी नगरपालिकाले औषधि युक्त धुवाँ छर्केका थिए। तर त्यसबाट पनि लामखुट्टे मरेका थिएनन्।

बरु उल्टै बाहिरका लामखुट्टेहरु घरभित्र छिरेका थिए। प्रभावकारी औषधि खरिद गरेर छर्नुपर्ने माग स्थानीयबासीहरुले गरेका छन् ।

मलंगवाको बजार क्षेत्र ,नाला र टोल बस्तीमा नियमित सरसफाइ नहुँदा लामखुट्टेको प्रकोप बढेको स्थानीयबासीहरु बताउँछन् ।दैनिकी रुपमा सरसफाइ गर्नुपर्ने उनीहरुको माग छ।

राती मात्र नभइ दिउँसो पनि लामखुट्टेले टोकेर हैरान पार्ने गरेको मलंगवा-९ कि एक छात्रा अमिशा कायस्थको गुनासो छ। बेलुका पढ्न बस्दा लामखुट्टेले टोकेर पढाइ तर्फ ध्यान केन्द्रित गर्न नसकेको उनले दुखेसो पोखिन्।

प्रतिक्रिया दिनुहोस्: