Loktantra Khabar National Weekly
Ad

बिश्व क्षयरोग दिवस २०८०

लोकतन्त्र खबर
९ चैत्र २०८०

२४ मार्च २०२४ को दिन संसारभरी विश्व क्षयरोग दिवस मनाईदै छ |

नेपाल सरकार, राष्ट्रिय क्षयरोग केन्द्रले पनि बिभिन्न रचनात्मक तथा चेतनामुलक कार्यक्रमको साथ् विश्व क्षयरोग दिवस मनाउदै छ |

क्षयरोग एक संक्रामक सरुवा रोग हो |  नेपालमा यो रोग जन स्वास्थ्य समस्याको रुपमा रहेको छ |

२४ मार्च १८८२ का दिन डा. रबर्ट कक्ले यो रोगको किटाणु माईको ब्याकटेरियम ट्युबरकलोसिस पता लगाएका हुनाले सोहि दिन बिश्व भरि यो दिवस मनाइन्छ | यो रोग धेरै पुरानो सरुवा रोग हो |

धार्मिक तथा अन्य पुराना ग्रन्थहरुमा यो रोगको बर्णन पाइन्छ | बिगतका शताब्दीहरुमा क्षयरोगले करोडौं मानिसहरुको ज्यान लिएको थियो |

त्यसैले यसलाई घातक रोगको रुपमा पहिचान गरिन्छ | समाजमा यसलाई सुकुटे, पहेलो रोग, आदी बिभिन्न नामले चिनिन्छ | यो रोग मानिस लगायत गाइ बस्तुमा पनी लागेको पाइन्छ | मानिसमा यो रोग शरीरको हरेक भागमा लाग्दछ |

फोक्सोमा ८० % लाग्छ भने शरीरको अन्य भागमा २० % लाग्दछ |

कारक तत्व :- माईको ब्याकटेरियम ट्युबरकलोसिस भन्ने शुक्ष्म किटाणुबाट यो रोग लाग्दछ |

उमेर समुह :- हरेक उमेरका ब्यक्तिलाई यो रोग लागन सक्छ तर खासगरी १५ बर्षदेखी ४५ बर्ष उमेरका व्यक्तिहरुलाई बढी लाग्दछ |

महिला र पुरुषको अनुपात :- यो रोग २ जना पुरुषलाई लाग्दा १ जना महिलालाई लागेको पाईन्छ

भौगोलिक बितरण :- हिमाल पहाड तराई देशको हरेक क्षेत्रम यो रोगको किटाणु समान रुपमा पाइन्छ अर्थात हरेक भौगोलिक क्षेत्रमा समानरुपमा क्षय्रोग् लाग्दछ |

सर्ने तरिका :- यो रोग श्वास प्रश्वासको माध्यमबाट एक रोगीबाट अर्को निरोगिमा सर्दछ |

रोगका लक्षणहरु :- साँझपख ज्वरो आउनु ,राति पसिना आउनु ,खाना खान मन नलाग्नु ,दुब्लाउदै जानु , खकारमा रगत देखा पर्नु

उपचार :- क्षयरोगको उपचार देशको हरेक स्वास्थ्य संस्थामा निशुल्क रुपमा पाइन्छ , पैसा लाग्दैन , छ महिना नियमित उपचार गर्दा क्षयरोग पुरा निको हुन्छ |

क्षयरोगको औषधी नियमित खानु पर्छ , कहिले खाने कहिले नखाने गर्दा जिर्णखालको क्षयरोग लाग्दछ जसलाई एम.डी.आर. टि.बी.भनिन्छ |

एम.डी.आर. टि.बी को उपचार मंहगो र लामो समय औषधि खानु पर्ने भएकोले उपचारको सफलता दर ५० % मात्र रहेको छ |

क्षयरोग बच्चाहरुमा पनी लाग्दछ तर उपचार गर्दा पुरा निको हुन्छ |

क्षयरोगको निदान :- दुई हप्ता वा सो भन्दा बढी समयदेखी लगातार खोकी लागेमा नजीकको स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्छ |

बिश्व क्षयरोग दिवस नेपाल अधिराज्यको ७५३ वटै पालिकाहरुमा आज मनाईंदै छ | तीन वटै तहको सरकार क्षयरोग नियन्त्रणको लागी प्रयासरत रहेको छ |

क्षयरोगको कारणले उपचारै नपाई कुनै नेपालीको मृत्यु न होस् भनी नेपाल सरकार कोशिस गरी रहेको भएतापनि हरेक बर्ष ५ – ७ हजार नेपालीहरुको मृत्यु क्षयरोगको कारणले भईरहेको छ |

यो अति दुखदाई अवस्था हो | प्रति एकलाख जनसंख्यामा २२९ जना क्षयरोगका बिरामी रहेको अनुमान गरिएतापनि सो संख्यामा रोगी पता लगाउन न सकिएको हुनाले समुदायमा अझ पनी क्षयरोगका बिरामी रहेको र रोग सारी रहेको अवस्था नै ठुलो चुनौती हो |

नेपालमा क्षयरोग नियन्त्रण हुन् नसक्नुको मुख्य आधार गरीबी, अशिक्षा, पोषणको अभाव, स्वस्थ्यकर बसोबासको कमी, शुद्ध खाने पानीको कमी,

बाक्लो बस्ती, बढ्दो शहरीकरण र भीडभाडको अवस्था नै मुख्य चुनौती रहेको छ |

त्यस्तै कल कारखानाबाट उत्सर्जित धुलधुँवा, बढ्दो पेट्रोल र डिजेलबाट चल्ने सवारीका साधनहरुबाट  हुने प्रदूषणले गर्दा पनि अस्वस्थ्यकर जीवन जिउन नेपाली समाज बाध्य रहेकोले क्षयरोग नियन्त्रन हुन् नसक्नु एक जटील समस्या रहेको छ |

नेपालीको खस्कदो आर्थिक अवस्था, बेरोजगारी, युवाहरु बिदेशिनु यी महत्वपूर्ण तथ्यहरु छन् जसले गर्दा क्षयरोग नियन्त्रणका बाधकहरु छन् |

हाल नेपालमा ३७००० जना क्षयरोगको बिरामीहरु छन् भने सर्लाही जिल्लामा ६३० जना बिरामी दर्ता भएको छ |

नेपालको सातै प्रदेश लगायतको क्षयरोगको उपचार सफलता दर ९२ % रहेको छ भने सर्लाही जिल्लाको ९६ %रहेको छ | यसै क्रममा गोडैता नगरपालिकामा ४५ जना नया क्षयरोगी बिरामी दर्ता भएको छ भने उपचार सफलता दर ९५ % रहेको छ |

आजका दिन हामी अठोठ गरौँ , क्षयरोगलाई हामी नियन्त्रण गर्ने छौ | हामी समस्त नेपालि दाजु भाई दिदी बहिनी काँधमा काँध मिलाई क्षयरोगको चुनौती स्वीकार गरि अघी बढ्ने छौ , यही आजको आवश्यकता हो , यही समयको माग हो |

विश्व क्षयरोग दिवस हरेक बर्ष मनाइन्छ तर आजको योजना नै भविष्यको सफलता हो | विश्व क्षयरोग दिवसको पावन अवसरमा सबैमा शुभ कामना ब्यक्त गर्दछौं |…………………………………………………धन्यबाद

शहाबुदिन मिकरानी

स्वास्थ्य संयोजक

गोडैता नगरपालिका सर्लाही

 

प्रतिक्रिया दिनुहोस्: