मनोज यादव—-
सर्लाही,चैत ९
विभिन्न १९ बुँदे मागहरु राखेर असन्तुष्ट जनप्रतिनिधिहरुले झण्डै सवा महिनादेखि तालबन्दी गर्दै आएको पर्सा गाउँपालिकाको ताल खोलिएको छ।
विगत ३६ दिनदेखि लगाइएको ताला बुधवार खुलेपछि गाउँपालिकाकाको नियमित कामकाज हिजो(बिहिवार)बाट सुचारू भएको गाउँकार्यपालिकाले जानकारी गराएको छ।
यस पालिकाका असन्तुष्ट बहुमत कार्यपालिका सदस्यहरुले गत आर्थिक वर्ष २०७९/०८० को आय-व्ययको फाँटबारी उपलब्ध गराउनुपर्ने ,शाखा प्रमुखहरुको कामकाज सन्तोषजनक नभएकोले हेरफेर वा आवश्यक्ता अनुसार हटाउनु पर्ने,स्थायी ,करार र दैनिक ज्यालादारी कर्मचारीहरुको तलबसहित नामावली विवरण उपलब्ध गराउनुपर्ने ,इन्धन खर्चको विवरण उपलब्ध गराउनुपर्ने ,२०७४ सालदेखि अहिलेसम्मको पेश्की र बेरुजु फर्छ्यौट गराउनुपर्ने लगायतका मागहरु राखेर गएको फाल्गुन १९ गतेदेखि गाउँपालिकामा तालाबन्दी गर्दै आएका थिए।
बुधबार गाउँपालिका अध्यक्ष धिरेन्द्र यादव”विस्पत” को अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले १९ बुँदे मागहरुको सम्बन्धमा आगामी कार्यपालिकाको बैठकमा छलफल गरि योजनाहरु संचालन गर्ने सहमती पछि तत्कालको लागि तालाबन्दी खोलिएको पर्सा गा.पा वडा न-२ संग्रामपुरका वडाअध्यक्ष राकेश रामले जानकारी दिए।
सहमती पश्चात् बिहीबार साँझ गा.पा अध्यक्ष यादव,प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार यादवसहित कार्यपालिका सदस्यहरुको उपस्थितिमा कार्यालयमा लगाइएको ताला खिलिएको थियो।

