Loktantra Khabar National Weekly
Ad

अक्षयका फिल्म लगातार फ्लपबारे भगनानी भन्छन्ः शाहरुखभन्दा ठूलो उदाहरण अर्काे छैन

लोकतन्त्र खबर
८ चैत्र २०८०

बलिउड फिल्म ‘बडे मियाँ, छोटे मियाँ’मा अक्षय कुमार र टाइगर श्राप मुख्य भूमिकामा छन्।

पछिल्लो समय यी दुवै अभिनेताका फिल्मले बक्सअफिसमा कमाल गर्न सकेका छैनन्। तर, यस फिल्मका निर्माता वासु भगनानी अक्षय र टाइगरलाई लिएर ढुक्क छन्।

अघिल्लो फिल्म फ्लप हुँदा मूल्याकंन गर्न नहुने उनको तर्क छ। हालै एक अन्तर्वार्तामा निर्माता वासुलाई अक्षय र टाइगरको हालैको ट्र्याक रेकर्ड हेरेर चिन्तित हुनुहुन्छ कि भनेर सोधिएको थियो।

जवाफमा उनले भने, ‘यो सबै फिल्ममा भर पर्छ। दुवैजना उत्कृष्ट कलाकार हुन्। यसले केही फरक पार्दैन। यहाँ शाहरुख खानभन्दा ठूलो उदाहरण अरू केही छैन। उनका ५/७ वर्षसम्म एउटा पनि फिल्म राम्रो चलेका थिएनन्।’

साथै उनले कुनै फिल्म नचल्दा कलाकार मात्रै जिम्मेवार नहुने पनि बताए। उनले भने, ‘रिलिजको समयले पनि फरक पार्छ। फिल्म कसरी बन्ने भन्ने पनि ठूलो कुरा हो।’

वासुले अक्षय कुमारको फिल्म ‘मिसन रानीगन्ज’ उल्लेख गरेका छन्।

उनले भने, ‘यो फिल्म रिलिज भएको दुई साता नबित्दै उत्तराखण्डमा सुरुङ भत्कियो। यदि यो फिल्म त्यतिबेला रिलिज भएको भए यसको प्रतिफल अझ राम्रो हुने थियो। तर पनि फिल्मले राम्रै गरेको थियो। अक्षयले फिल्ममा राम्रो काम गरेका छन्। उनले सरदारजीको भूमिका निकै राम्रोसँग निर्वाह गरेका छन्।’

वासु भगनानीले सन् १९९८ मा अमिताभ बच्चन र गोविन्द स्टारर फिल्म ‘बडे मियाँ छोटे मियाँ’ निर्माण गरेका थिए।

अब उनी फेरि अक्षय कुमार र टाइगर श्राफलाई लिएर सोही नामको एक्सन थ्रिलर फिल्म बनाएका छन्। यो फिल्म आगामी अप्रिल १० मा रिलिज हुँदै छ।  नेपालखबर

प्रतिक्रिया दिनुहोस्: