मनोज यादव—
सर्लाही,चैत ६
आधुनिक जीवन शैलीका कारण मानिसहरू स्वार्थी बनिरहेको बेला आफ्ना लागि भन्दा पनि अरू र समाजका लागि केही गर्नुपर्छ भन्ने सोंच लिएर डाक्टर गुणेश्वर झा सामाजिक कार्यमा अग्रसर भएका छन् ।
मलंगवा नगरपालिका वडा न-१० स्थित रहेको स्तुति सौम्या हेल्थ केयरका संचालक एवं जिल्लाकै कबिलासी नगरपालिका वडा न-९ सलेमपुर घर भएका डाक्टर झा समृद्ध सर्लाही निर्माण नामक एक गैरसरकारी संस्था मार्फत सामाजिककार्यमा अग्रसर भएका छन् ।
विशेष गरी सामाजिक समस्याहरूमा अग्रसर हुन रुचाउने डा.झा आफ्नो सामर्थ्य र क्षमताले भ्यायसम्म अतिविपन्न ,दलित,असहाय र दिनदुखीहरुको सेवामा हरपल लागिरहने अठोट गरिसकेको र सोही अनुसार अगाडी बढ्दै गइरहेको बताए ।
त्यसैले उनी कहिले उपचार गराउन असमर्थ अती विपन्न बिरामीको उपचार खर्चमा सहयोग गरेका छन् त कहिले पैसाको अभावमा विवाह हुन नपाएका अभिभावक विहिन छोरी चेलीको विवाहमा सहयोग गरेका छन् ।
उनले कयौंपटक आगलागी,शितलहर जस्ता प्राकृतिक विपदाको बेला पनि स्थानीय सरकारले गर्न नसकेको ठाउँमा पुगेर सहयोग गरेको उनलाई चिन्नेहरु बताउँछन्। उनी समस्यामा परेका जोकोहीको सेवा गर्न पाउँदा मनैदेखि प्रसन्न लाग्ने बताउँछन् ।
उनले आइतवार मस्तिष्क घात रोगबाट पिडित बिरामी रोहुवा निवासी राजन झालाई उपचार खर्च बापत आर्थिक सहयोग गरेको छ।
ज्याला मजदुरी गरेर आफ्नो परिवारको जिविकोपार्जन गर्दै आएका बिरामी झा लाई मस्तिष्क घात सम्बन्धि रोग लागेकोले उनको उपचारमा संलग्न चिकित्सकले निजको शल्यक्रिया गर्नुपर्ने बताएका छन् ।
अतिविपन्न परिवारका राजन झा सँग शल्यक्रिया गराउनको लागि पैसाको अभाव भइरहेको अवस्थामा समाजसेवी डाक्टर झा निज बिरामीको उपचारमा सहयोग गर्न आफ्नो हात अगाडी बढाएका छन् ।
उनले आइतवार बिरामी राजनको उपचार चलिरहेकै अस्पतालमा गएर २५ हजार रुपैया नगद हस्तान्तरण गरेका छन् ।उनीसँगै जिल्लाकै गैर निवासी रजनीकान्त झा ले पनि केही रकम उपचारको लागि सहयोग वापत बिरामीलाई हस्तान्तरण गरेका छन् ।
डाक्टर झा ले यसअघि पनि कयौंपटक यसैगरी अतिविपन्न गरिब बिरामीहरुको उपचारका लागि आफ्नो सामर्थ्यले भ्याय जति सहयोग गरिसकेका छन् ।
उनले हालै कौडेना गाउँपालिका वडा न-१ निवासी मनोहरी देवी बैठालाई छोरीको बिवाहको लागि १० हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।
यसैगरी उनले कबिलासी नगरपालिका वडा न-९ निवासी विन्देश्वर ठाकुरको छोरोको बिरगंजको नेसनल मेडिकलमा उपचार गराउनको लागि ५० हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।
उनले आर्थिक अभावका कारण उपचार लगायत अन्य विभिन्न समस्या बाट पिडित बनेका जोकोही लाई सहयोग गर्ने र अन्य मनकारी व्यक्ति र संस्थाहरु सँग समेत सहयोग गर्न लगाउने प्रतिबद्धता ब्यक्त गरे।
उनले गठन गरेको समृद्ध सर्लाही निर्माण नामक संस्थाबाट समयसमयमा विभिन्न सामाजिक क्रियाकलापहरुको आयोजना गरेर समाजलाई चेतनशील बनाउन समेत सहयोग गर्दै आएको छ।
समाजलाई समृद्धि बनाउन सबैको साथ सहयोगको आवश्यक्ता रहेकोले सामाजसेवा जस्तो पवित्र काममा एकजुट भएर लाग्न डाक्टर झाले सबैसँग अनुरोध गरेका छन् ।