मनोज यादव—
सर्लाही,चैत २
आज(बिहीबार)बाट सर्लाहीमा भेडाबाख्रामा लाग्ने पिपिआर रोग विरुद्धको खोप अभियान हिजो(बिहीबार)देखि सुरु भएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीको आयोजनामा “रोग नियन्त्रण तथा रोकथामको लागि सप्ताहव्यापी खोप अभियानकार्यक्रम २०८०” अन्तर्गत चैत १ गतेदेखि चैत ७ गतेसम्म संचालन हुने यस अभियान मार्फत जिल्लाको २० वटै पालिकामा १ लाख भन्दा बढी भेडाबाख्राहरुमा खोप लगाइने भएको छ।
यसका लागि नेपाल सरकारले मधेश प्रदेशका लागि पठाएको जम्मा डोज मध्येबाट मधेश प्रदेश सरकार मार्फत सर्लाहीमा १ लाख ३४ हजार डोज खोप प्राप्त भएको र सोही अनुसार नगरपालिकामा ८ हजार र गाउँपालिकामा ५५ सयको दरले खोपको डोज पठाइसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीका निमित्त कार्यालय प्रमुख उपेन्द्र कुमार सिंहले जानकारी दिए ।
पिपिआर रोगको संक्रमण दर शतप्रतिशत र मृत्युदर ९० प्रतिशतसम्म पुग्ने भएकाले यसलाई पशुहरूमा लाग्ने सबैभन्दा खतरनाक रोग मानिने गरेको निमित्त प्रमुख सिंहले बताए ।
नेपालमा पहिलोपटक सन् १९९४ मा यो रोग देखिएको थियो। हाल ७७ वटै जिल्लामा यो रोग पुष्टि भइसकेको छ ।
यो रोग लागेका भेडाबाख्रामा ज्वरो आउने, झोक्राउने, घाँस, दानापानी नखाने,निरन्तर पाखाला लागिरहने, नाकबाट पानी बग्ने, नाकको प्वाल बन्द हुने, आँखा रातो हुने, कचेरा निस्कने, निरन्तर आँसु बग्नेलगायतका लक्षण देखिने र रोग लागेको ५ देखि १० दिनमा भेडाबाख्राको मृत्यु हुने गरेको निमित्त प्रमुख सिंहले बताए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीले खोप संचालन हुने सम्बन्धित पालिकाको समन्वयमा बिहिबार बिहान ७ बजे एकैसाथ भेडा बाख्रामा लाग्ने रोग पिपिआर विरुद्धको खोप अभियान शुरु गरेको छ।
यसै क्रममा पशु सेवा विज्ञ केन्द्र सर्लाहीले मलंगवा नगरपालिकासँगको समन्वयमा वडा न-२ स्थित झण्डा बजारमा सोही वडाका वडा अध्यक्ष धिरेन्द्र साहको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रमको आयोजना गरि स्थानीयको बाख्रालाई खोप लगाएर सप्ताहव्यापी खोप अभियानको शुभारम्भ गरेका थिए।
कार्यक्रममा नेपाली काँग्रेस नगर कमिटीका अध्यक्ष चन्द्र किशोर साह,जनमत पार्टीका राकेश मिश्र,नागरिक समाजका महासचिव शिवचन्द्र चौधरी ,भेटेरिनरी अस्पताल मलंगवाका श्याम सुन्दर यादव, पशु सेवा शाखा मलंगवा नगरपालिकाका संजिव मिश्र,मलंगवा न.पा का इन्जिनियर संतोष कुमार सिंह लगायत स्थानीय बुद्धिजीवी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

