मनोज यादव—-
सर्लाही,फाल्गुन ३०
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको छ। नगरमा बस्ने ९६.१३ प्रतिशत जनता साक्षर भएसँगै नगरपालिकालाई साक्षर घोषणा गरिएको हो।
मलंगवा नगरपालिकाको कुल जनसंख्या ५४ हजार ५ सय ५० मध्ये २०८० सालमा बसेको नगर शिक्षा समितिको बैठकको निर्णय अनुसार विद्यालय घरधुरी सर्वेक्षण गर्दा १५ देखि ६० वर्ष उमेर समूहका ५ हजार ६ सय ३० जना निरक्षर देखिएकोले आर्थिक वर्ष २०८०/०८१ मा संचालित साक्षरता कक्षा मार्फत ५ हजार ४ सय १२ जना सहभागीहरुलाई साक्षर गराइएकोले स्वीकृत साक्षर नेपाल वर्ष २०७६ को अवधारणा अनुसार यस नगरपालिका क्षेत्र भित्र स्थायी बसोबास गर्ने तोकिएका उमेर समूहका ९५ प्रतिशत जनसंख्या साक्षर भएको घोषणा गर्ने प्रावधान अनुरुप कुल जनसंख्याको ९५ प्रतिशत भन्दा माथि ९६.१३ प्रतिशत साक्षर देखिन आएकोले साक्षर नगर अभियानका लागि नगर शिक्षा समितिको २०८० भाद्र १९ गते बसेको बैठकको निर्णय अनुसार मलंगवालाई साक्षर नगर घोषणा गरिएको शिक्षा शाखा प्रमुख प्रमोद मण्डलले जानकारी दिए।
नागेन्द्र प्रसाद यादवको अध्यक्षता संघीय सरकारको निवर्तमान खानेपानी मन्त्री महेन्द्र राय यादवको प्रमुख आतिथ्यता तथा मधेस प्रदेश सांसद कौशल किशोर राय,नगर उपप्रमुख शकुन्तला देवी साह, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको विशिष्ट आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी ,यसै पालिकाको पुर्व प्र.प्र.अधिकृत गेहनाथ गौतम सबै वडाका वडाअध्यक्ष, नगर भित्रका सामुदायिक विद्यालयका शिक्षक,विभिन्न संघसंस्थाका प्रतिनिधि पत्रकारहरु लगायतको उपस्थितिमा मंगलबार एक समारोहको आयोजना गरि मलंगवालाई साक्षर नगर घोषणा गरिएको छ।
कार्यक्रममा निवर्तमान खानेपानी मन्त्री यादवले साक्षर स्तम्भको अनावरण गर्दै घोषणा पत्र वाचन गरेका थिए भने नगरप्रमुख यादवले कार्यपत्र प्रस्तुत गरेका थिए। यसै अवसरमा नगरलाई साक्षर बनाउन सहयोग गरेका नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयका प्राधानाध्यापक लगायत विभिन्न संघसंस्थाहरुलाई पनि नगरपालिकाले कदर पत्र प्रदान गरि सम्मानित गरेका थिए।
आजबाट मलंगवा सर्लाही जिल्लामा रहेका २० वटा पालिकाहरु मध्येबाट जिल्लामै पहिलो तथा मधेस प्रदेशका १३६ वटा पालिकाहरु मध्येबाट चौथो साक्षर नगर बन्न सफल भएको छ। हालसम्म ७ वटा प्रदेश मध्येबाट ३ वटा प्रदेश साक्षर घोषणा भइसकेका छन् ।