Loktantra Khabar National Weekly
Ad

तराई मधेसमा देखिन छाडे गोरुगाडा ,अब इन्जिन गाडीको चलन

लोकतन्त्र खबर
२४ फाल्गुन २०८०

मनोज यादव—-
सर्लाही,फाल्गुन २४

केही दशक अगाडीसम्म तराई मधेसमा मुख्य यातायातको साधनको रुपमा रहेको गोरु गाडा अहिले लोप हुने अवस्थामा पुगेको छ ।

आजभन्दा डेढ दुई दशक अगाडी गाउँघरमा एक ठाउँबाट अर्को ठाउँसम्म जान एवं सामान ढुवानीको मुख्य साधनको रुपमा गोरु गाडाको प्रयोग गरिन्थ्यो ।

शहर बजारमा पनि यातायातको साधनको रुपमा गोरु गाडाकै प्रयोग गरिन्थ्यो तर पछिल्लो समय यातायातको साधनको रुपमा ईन्जनबाट चल्ने गाडीहरुको प्रयोग हुन थालेपछि गोरुगाडाहरु अहिले लोपोन्मुख अवस्थामा पुगेका छन ।

तराई मधेशको एउटा चिनारीको रुपमा रहेको गोरु गाडा हेर्न मुस्किल पर्न थालेको छ। किसानहरु कृषि कार्यको लागि गोरु पाल्न छाडेपछि गोरु गाडा पनि लोप हुँदै गएका हुन्। अहिले तराई मधेसका गाउँघरमा आक्कलझुक्कल मात्रै गोरु गाडा देख्न सकिन्छ ।

पहिले एक ठाउँबाट अर्को ठाउँमा पुग्न तथा कृषि उपज र अन्य सरसामान ओसारपसार गर्न गोरु गाडाकै प्रयोग हुन्थ्यो।

तर अहिले भने छिटो र सहज तरिकाले एक ठाउँबाट अर्को ठाउँमा पुग्न र सरसामान ओसारपसार गर्न इन्जिननाट गुड्ने बस,जिप,मोटरसाइकल,ट्रक ,ट्याक्टर लगायतका सवारी साधनहरुको प्रयोग हुन थालेको सर्लाहीको बसबरिया गाउँपालका वडा न-६ सहोड्वाका संतोष यादव बताउनुहुन्छ ।

तराई मधेशका अधिकांश किसानले गोरु पाल्न छाडेका छन् । खेतबारी जोत्न ट्याक्टर प्रयोग हुन्छ। यादव एक दशकको अवधिमा गोरुगाडा लोप नै भएको बताउँछन् । १०/१५ वर्षअघिसम्म गोरु गाडा धेरै चल्थ्यो तर अहिले गाउँका एक/दुई जनासँग मात्रै गोरुगाडा छ,” उनले भने।

अहिले पनि कुनैकुनै गाउँमा धान, चामल र उखु बोक्न र नजिकैका आफन्त कहाँ जाँदा आउँदा गोरु गाडाकै प्रयोग गर्ने गरिन्छ।

सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ निवासी नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले गोरु गाडाको रुपमा मधेशको एउटा चिनारी नै लोप हुने अवस्थामा पुगिसकेको बताए ।मधेशमा गोरुगाडा मात्रै नभइ यस्ता धेरै पुराना चिनारीहरु लोप हुँदै गएको उनले भने।

एकजोडी गोरुले तान्ने काठबाट बनाइएको दुई पाँग्रे गाडीलाई गोरु गाडा वा बयल गाडा भन्ने गरिन्छ। आजभन्दा तीन चार दशक अगाडी रबरको टायरको प्रचलन नहुँदा गोरु गाडामा काठको चक्काको प्रयोग गरिन्थ्यो ।

त्यसपछि फलामको रिमसहितको रबरको टायरको प्रयोग हुन थालियो । गोरु गाडा बनाउन पर्याप्त काठको आवश्यकता पर्छ। पछिल्लो समय काठ पाउन मुस्किल परेको र प्रयोग पनि घट्दै गएकोले गोरु गाडा बनाउने कालिगढहरु अन्य पेशा अपनाउन थालेको बुढापाकाहरु बताउँछन् ।

नयाँ पुस्ताहरुलाई कहीँ कतै गोरु गाडा देख्दा पनि नौलो लाग्ने गरेको छ।मधेशका भित्री बस्तीमा समेत गोरुगाडा देख्न मुस्किल पर्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्: