Loktantra Khabar National Weekly
Ad

सुदूरपश्चिम सरकारबाट माओवादी केन्द्रको समर्थन फिर्ता

लोकतन्त्र खबर
२३ फाल्गुन २०८०

कैलाली । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार बिहान बसेको सो पार्टीको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर साह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसदीय दलका नेता मानबहादुर धामीले रातोपाटीलाई जानकारी दिए ।

माओवादीले शाह नेतृत्वको वर्तमान सरकार गठन भएको एक वर्ष सम्ममा पनि सुशासन, विकास र जनतामा आशा जगाउन पूर्णतः असफल भएको ठहर गरेको छ ।

‘संसद्लाई बिजनेस दिन, नयाँ विधेयक, ऐन र कानुनहरू निर्माण गर्नमा समेत सरकार असफल भएको छ’, दलको बैठकपछि जारी विज्ञप्तिमा माओवादीले भनेको छ  ।  यो प्रदेशमा माओवादीका मन्त्रीहरू पदमुक्त भैसकेका छन् । ‘देशको राजनीतिमा आएको परिवर्तन र सरकारले नै हाम्रा दलका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई पदमुक्त गरिसकेको अवस्थामा वर्तमान सरकारलाई समर्थन गरिराख्नुपर्ने कुनै कारण नै रहेन’, दलका नेता धामीले भनेका छन्,  ‘अतः आज मिति २०८० /११ /२३ गते देखि कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवगत गराउँदै यो प्रेस वक्तव्य जारी गरिएको छ ।’

सुदूरपश्चिममा माओवादीका ११ सांसद रहेका छन् । रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: