लोकतन्त्र समाचारदाता—-
सर्लाही,फाल्गुन २२
पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै सर्लाहीको सदरमुकाम मलंगवासहित जिल्लाभरी भाइरल ज्वरो र झाडा पखालाका बिरामीहरुको संख्या बढ्न थालेको छ ।
मलंगवा स्थित प्रादेशिक अस्पताल तथा विभिन्न पालिकाका स्वास्थ्य संस्था लगायत निजी क्लिनिक तथा अस्पतालहरुमा भाइरल ज्वरो र झाडा पखालाका बिरामीको संख्या बढ्न थालेका हुन् ।
पछिल्लो केही दिनयता भाइरल ज्वरो र पखालाका बिरामीको संख्यामा वृद्धि भएको जिल्ला स्थित स्वास्थ्य संस्थाहरुले जानकारी दिएका छन् ।
मौसममा आएको परिवर्तनका कारण ज्वरोका बिरामी बढ्दै गएको र यस्तो बेला सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुले बताए ।
मौसममा परिवर्तन आएको छ, धुलोधुवाँले गर्दा, पहिलाको तुलनामा अहिले बिरामीको संख्या बढेको मलंगवा नगरपालिका वडा न-११ गम्हरियाका एक निजी क्लिनिकका संचालक एवं चिकित्सकले राम विनय रायले बताए ।
उपचारका लागि आउने बिरामीमध्ये अधिकांशमा भाइरल ज्वरोको प्रकोप देखिएको रायले बताए ।
मौसममा आएको परिवर्तनले भाइरसहरु सक्रिय हुँदा भाइरल ज्वरो फैलिने र यसबाट बच्नका लागि सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
भाइरल ज्वरोबाट बच्न लागि उमालेको पानी मात्रै प्रयोग गर्ने, साबुनपानीले बेलाबेलामा हात धुनुपर्ने तथा तातो र झोलिलो खानेकुरा खानुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको चिकित्सकले बताएका छन् । शुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण देखापर्ने गरेको छ।
गर्मी मौसम शुरु भएसँगै भाइरल ज्वरोका बिरामी बढेका भए पनि आत्तिनुपर्ने अवस्था नभएको चिकित्सकको भनाइ छ।