सौरभ चौधरी लिखित तथा निर्देशित फिल्म ‘द अनब्रेकएबल अगस्त्यः च्याप्टर १’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ।
प्रदर्शनअघि यो फिल्मले निकै चर्चा पाएको थियो।
अभिनेता सौगात मल्लले यो फिल्मका लागि सुरूमा १७/१८ किलो तौल घटाए र पछि दस किलो बढाए। नाजिर हुसेनले पनि यो फिल्ममा निर्वाह गर्ने भूमिकाकै लागि बीस किलो तौल बढाएका थिए।
दुई अभिनेताले भरपुर मेहनत गरेकाले खुबै प्रशंसा भएको थियो।
अझ यो फिल्मको पोस्टर रिलिज भएसँगै, सौगातको फर्स्ट लुकले दर्शकलाई निकै नयाँ आशा दिएको थियो। नाजिरले आफ्नो सामाजिक सञ्जालमार्फत हातमा पाउरोटी लिएर सडकमा दौडिरहेका सौगातको तस्बिर सार्वजनिक गरेका थिए। उक्त तस्बिरले धेरैको ध्यान तान्यो।
फर्स्ट लुक पोस्टरले दिएको ‘हाइप’ फिल्मको टिजर र ट्रेलरले यथावत् राख्यो। प्रशस्त एक्सन, सस्पेन्स, दोस्ती र प्रेमको कथा फिल्ममा भएको अनुमान थियो।
यति मात्र होइन अगस्त्य दक्षिण भारतीय फिल्मलाई टक्कर दिन फिल्म भन्दै दर्शकहरूले प्रशंसा गरेका थिए।
शुक्रबार रिलिज भएपछि भने अगस्त्यले पहिलेको चर्चा कायम राख्न सकेको देखिँदैन।
एक्सन, सस्पेन्स थ्रिलर विधाको यो फिल्म बनाउन निर्देशक सौरभ चौधरीले धेरै मेहनत गरेका छन्। तर फिल्म औसत बनेको छ।
फिल्मको सुरूआत सौर्य (सौगात मल्ल) को खोजीबाट हुन्छ। उनलाई खोज्दै हुन्छन् निशान (नाजिर हुसेन)।
मानसिक सन्तुलन गुमाएको अवस्थामा भारतको गोरखपुरमा दौडिरहेका हुन्छन् सौर्य।
सेतो कुर्तासुरूवाल लगाएकी चाँदनी (मलिका महत) उनको सम्झनामा आइरहन्छिन्।
सौर्य को हुन्? उनलाई निशानले किन खोजिरहेका हुन्छन्? उनी गोरखपुर कसरी पुगे? उनको सम्झनामा आइरहने चाँदनी को हुन्?
निर्देशक चौधरी यी सबै सस्पेन्स राख्न सफल भएका छन्।
यस फिल्मको केन्द्र सौगात मल्ल हुन्। उनी आफ्नो हरेक भूमिकामा सशक्त देखिन्छन्। अगस्त्यमा मानसिक सन्तुलन गुमाएका व्यक्तिको उनको अभिनय दमदार छ।
सौर्य पात्रमा देखिएका सौगातले आफ्नो अभिनय करिअरमा अर्काे इँटा थप्ने काम गरेका छन्।
सौगातको अगाडि फिक्का नपरेका अभिनेता हुन् नाजिर हुसेन। उनको अभिनय थप खारिएको यो फिल्ममा देख्न सकिन्छ।
खलनायकको भूमिकामा प्रमोद अग्रहरी पनि जमेका छन् तर उनको संवाद थोरै छ। त्यसैले उनको भूमिकाले धेरै प्रभाव छोड्न भने सकेको छैन।
विजय बराल र रवीन्द्र झा फिल्ममा सदाबहार जस्तै देखिएका छन्। अभिनेत्री मलिका महत भने फिल्ममा औसत देखिएकी छन्।
एक्सन फिल्मको सबभन्दा महत्त्वपूर्ण कुरा हो संवाद। तर फिल्ममा कलाकारहरूको दमदार डाइलग छैन। दर्शकको मनमस्तिष्कमा बस्ने खालको त कुनै डाइलग नै छैन।
त्यस्तै ध्वनीमा पनि कमी कमजोरी देखिएको छ। कतिपय दृश्यमा निर्माण टिम डबिङ र सिंक साउन्डमा चुकेका छन्।
फिल्मको कथा औसत भए पनि ट्विस्ट जोड्न निर्देशक चौधरी सफल देखिएका छन्। फिल्मको अन्तिमसम्म अब के हुन्छ भन्ने कौतुहलता दर्शकको मनमा रहिरहन्छ।
यहीँनिर निर्देशक चौधरी चुकेका पनि छन्। फिल्मको कथा निर्माण गर्न र भन्न उनले धेरै नै समय लगाएका छन्। मध्यान्तरमा बल्ल फिल्म मुख्य कथामा प्रवेश हुन्छ।
त्यस्तै सडकमा दौडिरहेका सौर्य र सौर्यको सम्झनामा आइरहने चाँदनीको दृश्यले दर्शकलाई झर्को लगाउँछ। यस्तो दृश्य बारम्बार आइरहने र नयाँपन नहुँदा दर्शकमा छट्पटाहट बढ्छ। उस्तै दृश्य दोहोरिइरहने दुई घन्टा ५० मिनेट लामो फिल्म हलमा बसेर हेर्न धैर्य धेरै नै चाहिन्छ।
फिल्मको सिनेमाटोग्राफीले भने दर्शकलाई भरपुर शीतलता दिन महत्त्वपूर्ण भूमिका खेलेको छ।
गोरखपुरको व्यस्त सडक होस् या नवलपरासीको हरियाली, मनोरम दृश्यहरू फिल्ममा उतारिएका छन्। निर्माण टिमले रङ संयोजनमा पनि निकै ध्यान दिएको छ जसले गर्दा फिल्मका दृश्यहरू बिझाउँदैनन्। सेतोपाटी