Loktantra Khabar National Weekly
Ad

८७९ दिन अन्तरीक्षमा बसेर रुसी अन्तरीक्षयात्रीले राखे कीर्तिमान

लोकतन्त्र खबर
२५ माघ २०८०

काठमाडौं । रुसी अन्तरीक्षयात्री ओलेग कोनोनेंकोले सबैभन्दा लामो समयसम्म अन्तरीक्षमा बसेर नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । हालसम्म कूल ८७९ दिनसम्म अन्तरीक्षमा बिताएर उनले यही आइतबार कीर्तिमान कायम गरेका रुसी स्पेस एजेन्सी रोस्कोस्मसले जनाएको छ ।

यद्यपि यो उनले एकै पटकमा अन्तरीक्षमा बसेर बनाएको कीर्तिमान भने होइन । उनी पटक–पटक गरेर हालसम्म ८७९ दिनसम्म अन्तरीक्षमा बसेका हुन् । यसअघि रुसकै जेनेडी पडाल्काले ८७८ दिन ११ घण्टा र ३० मिनेटसम्म अन्तरीक्षमा बसेर बनाएको किर्तिमान कोनोनेंकोले भंग गरेका छन् ।

यी अन्तरीक्षयात्रीले आगामी जुन ५ मा पुनः अर्को दुर्लभ कीर्तिमान कायम गर्नेछन् । त्यसबेला उनले अन्तरीक्षमा बिताएका दिनहरुको संख्या १ हजार पुग्नेछ । हालको अन्तरीक्ष बसाइँ समाप्त हुने मिति अर्थात् आगामी सेप्टेम्बर २३ सम्म उनले अन्तराष्ट्रिय अन्तरीक्ष स्टेसनमा कूल ११ सय १० दिन बिताएका हुनेछन् ।

रुसी समाचार एजेन्सी ताससँग अन्तराष्ट्रिय स्पेस स्टेशनबाटै दिएको अन्तरवार्तामा उनले आफू कुनै कीर्तिमान कायम गर्नका लागि नभई आफूलाई मनपर्ने काम गर्नका लागि अन्तरीक्षमा जाने गरेको बताएका छन् ।

५९ वर्षीय कोनोनेंकोले आफू आफ्ना सबै उपलब्धिहरुका लागि गौरवान्वित रहेको र त्यसभन्दा पनि मानिसले अन्तरीक्षमा बिताएको सबैभन्दा धेरै कूल समयको कीर्तिमान अझै पनि रुसको नाममा रहेकोमा आफूलाई अझै धेरै गर्व लाग्ने गरेको उनको भनाइ छ ।

सोभियत संघकालीन समयदेखि नै रुसी अन्तरीक्षयात्रीहरुले अन्तरीक्ष उडानमा सबैभन्दा लामो समय बिताउने रेकर्ड कायम गर्दै आएका छन् । अन्तरीक्षमा सबैभन्दा धेरै समय बिताउने अन्तरीक्ष यात्रीको सूचिमा पहिलो ८ नम्बरसम्म रुसी नागरिकहरु नै छन् । नबौँ नम्बरमा मात्रै अमेरिकी अन्तरीक्षयात्री पेगी व्हिट्सन रहेकी छिन् जसले ६७५ दिन अन्तरीक्षमा बिताएकी छिन् ।

त्यस्तै रुसी अन्तरीक्षयात्री भेलेरी पोलियाकोभसँग एकै पटकमा लगातार ४३८ दिनसम्म मीर स्पेस स्टेशनमा बिताएको रेकर्ड छ । उनले सन् १९९४ को जनवरीदेखि सन् १९९५ को मार्च महिनासम्म अन्तरीक्षमा बिताएका थिए ।

त्यस्तै अमेरिकी अन्तरीक्षयात्री फ्रेंक रुबियोले अन्तराष्ट्रिय स्पेस स्टेशनमा लगातार ३७१ दिन बिताएका छन् । उनी रुसी यानमा चढेर पृथ्वीमा फर्किएका थिए ।

हाल कोनोकेंको आफ्नो पाँचौ अन्तरीक्ष उडानमा छन् । उनी एक्स्पीडिसन ७० का उडान इन्जिनियर हुन् । तर उनी यो महिना अन्तरीक्षमै रोकिनुपर्यो किनकि कमाण्डर एन्ड्रियास मोगेन्सन स्पेस एक्सको क्रु सेभेन मिसनसँगै पृथ्वीमा आउनुपरेको थियो । क्रु ७ टिमलाई क्रू ८ टिमका चारजना अन्तरीक्ष यात्रीले पालो दिनेछन् । उनीहरुले आगामी फेब्रुअरी २२ मा पृथ्वीबाट अन्तरीक्षको उडान भर्नेछन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: