Loktantra Khabar National Weekly
Ad

सरकारको काम एनजीओ ले गर्दै सयौं गरिब तथा दलितको दृष्टि फर्काउन सफल

लोकतन्त्र खबर
२३ माघ २०८०

मनोज यादव—
सर्लाही,माघ २३

दृष्टिमा समस्या देखिए आँखाको शल्यक्रिया गर्नुपर्ने हुन्छ । तर अती विपन्न र दलित समुदायका बिरामीहरुलाई आर्थिक अभावमा समय रहँदै शल्यक्रिया गराउन नपाउँदा आँखाको ज्योति गुमाउनु परेको छ।

आँखा सम्बन्धि विभिन्न रोग तथा संक्रमण देखा परेका ग्रामीण भेगमा बसोबास गर्ने यस्ता समुदायका मानिसहरु आर्थिक र समय अभावले गर्दा उपचार गराउन जाँदैन । सरकारी स्तरबाट पनि ग्रामीण भेगमा बसोबास गर्ने गरिब तथा दलितहरुको लागि स्वस्थ्य सम्बन्धि प्रभावकारी कार्यक्रमहरु खासै भएको देखिंदैन । सरकारी स्तरबाट काम नभएपनि पछिल्लो समय केही गैरसरकारी संघसंस्थाहरुले अतिविपन्न र दलित समुदायलाई लक्षित गरेर तराई मधेशका ग्रामीण तथा दुर्गम बस्तीहरुमा गएर नि:शुल्क स्वास्थ्य शिविरहरु संचालन गरेर सेवा दिइरहेका छन् ।

सोही क्रममा सर्लाहीको सदरमुकाम मलंगवामा रहेको चेतना नामक एक गैरसरकारी संस्थाले कतार च्यारिटी नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्राविधिक सहयोगमा सर्लाही जिल्लाका विभिन्न पालिकाहरुमा नि:शुल्क आँखा परिक्षण तथा मोतियाबिन्दु शल्यक्रिया शिविर संचालन गरेको छ। संस्थाले जिल्लाको धनकौल र ब्रम्हपुरी गाउँपालिकामा आर्थिक अभावका कारण उपचारबाट वञ्चित रहेका आँखा सम्बन्धि रोगका बिरामीहरुका लागि नि:शुल्क आँखा परिक्षण तथा मोतियाबिन्दु शल्यक्रिया शिविर संचालन गरेको छ।

उक्त संस्थाले गत पुस र माघ मसान्तमा विभिन्न चरणमा संचालन गरेका त्यस्ता शिविरबाट करिब ३ हजार जना आँखाका बिरामीहरुले सेवा लिएका छन् । उनीहरूलाई शिविर स्थलमै औषधि र चस्मा पनि वितरण गरिएको छ। आँखाको स्क्रिनिङ्गको क्रममा फेलापरेका झण्डै १३ सयजना मोतिबिन्दुका बिरामीहरुलाई सदरमुकाम मलंगवा स्थित रहेको मलंगवा आँखा अस्पतालमा लगेर नि:शुल्क शल्यक्रिया गरिएको छ ।

आँखा उपचारको पहुँच र आर्थिक अभावमा लामो समयदेखि दृष्टिविहिन बस्न बाध्य भएका बिरामीहरुको लागि घर आँगनमै पुगेर नि:शुल्क रुपमा उपचार सेवा दिएर संस्थाले सरकारले गर्नुपर्ने काम गरेको भन्दै आँखा जाँच गराउन शिविर स्थलमा आइपुगेका स्थानीयहरु खुसी व्यक्त गर्दै यस किसिमका स्वास्थ्य शिविरहरु प्रत्येक वर्ष संचालन गर्न सुझाव दिएका छन् ।

आँखा जाँचदेखि लिएर शल्यक्रिया गर्दासम्मको सम्पूर्ण सुविधा संस्थाले नि:शुल्क रुपमा प्रदान गरेको चेतनाका सल्लाहकार मुकेश जयसवालले बताए ।

शल्यक्रिया गराउने बिरामीहरुलाई घरदेखि अस्पतालसम्म लान र अस्पतालदेखि घरसम्म पुर्याउन बसको ब्यवस्थाको साथै बिरामी र कुरुवाहरुको लागि खाना र बासको समेत ब्यवस्था संस्था द्वारानै नि:शुल्क रुपमा उपलब्ध गराएको जयसवालले बताए ।

अहिले पनि हाम्रो देशमा कतिपय नागरिक आर्थिक अभावकै कारण आँखा उपचारबाट वञ्चित छन् । गैरसरकारी संस्थाहरु आ-आफ्नो क्षमता र स्तरबाट सेवा प्रवाह गरिरहेकै छन् ।तर सरकार भने उनीहरूले गरेको कामलाई आफुले गरेको भन्दै फुर्ती लगाउँदै हिंडिरहेको छ।

प्रतिक्रिया दिनुहोस्: