Loktantra Khabar National Weekly
Ad

पर्यटन बोर्डमा क्षमता र योग्यताका आधारमा सिइओ र सदस्य नियुक्त गर्न व्यवसायीको माग

लोकतन्त्र खबर
२२ माघ २०८०

र्यटन व्यवसायीहरूले नेपाल पर्यटन बोर्डमा योग्यताका आधारमा सिइओ र सदस्य नियुक्त गर्न माग गरेका छन्।

आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पर्यटन सम्बद्ध तीन संस्थाले ज्ञापन बुझाउँदै नियुक्तिको माग गरेका हुन्।

बोर्डको सिइओ र सदस्य नियुक्तिमा राजनीति हाबी हुँदै गएकाले पर्यटन क्षेत्रमा सक्रिय रहेका र पर्यटन बुझेका व्यक्ति मात्र बोर्डको समितिमा रहेमा सकरात्मक परिवर्तन ल्याउन सक्ने व्यवसायीहरूले बताएका छन्।

उनीहरूले नियुक्तिको लागि सिफारिस सदस्यहरू योग्य, दक्ष र व्यवसायिक नेतृत्व क्षमतामा अब्बल हुनुपर्ने भन्दै ज्ञापन पत्र बुझाएका हुन्।

२०५५ सालमा नेपालको पर्यटन व्यवसायको विकास तथा नेपालको प्रवर्द्धन गर्न स्थापना भएको बोर्डमा सरकारमा सहभागी दलले बजेट दुरुपयोग गर्न राजनीतिक कार्यकर्ता भर्ना गर्ने बेथिती बस्दै गएपछि यसपटक तीनवटा मुख्य पर्यटनसम्बद्ध संस्थाले प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई ‘पर्यटन बोर्ड ऐनले व्याख्या गरेबमोजिम योग्यताका आधारमा सिइओ र बोर्ड सदस्य नियुक्त’ गर्न माग राख्दै ज्ञापन बुझाएका हुन्।

ज्ञापन बुझाउनेमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) छन्।

‘नेपाल पर्यटन बोर्डमा प्रतिनिधित्व गर्ने बोर्ड सदस्यहरूमध्ये निजी क्षेत्रबाट सदस्य हुने व्यक्ति निजी क्षेत्रप्रति पूर्णरूपले जवाफदेही तथा यसको अपनत्व लिने खालको हुनु अनिवार्य छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘पर्यटन क्षेत्रमै सक्रिय रहेका र पर्यटन बुझेको व्यक्तिले मात्रै नेपाल पर्यटन बोर्डको समितिमा रही सकारात्मक परिवर्तन ल्याउन सक्छ।’

साथै उनीहरूले प्रत्यक्ष रूपले पर्यटन क्षेत्रमा कार्यरत राष्ट्रिय छाता संगठनहरूको संस्थाका अध्यक्षहरूलाई नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यको पदेन सदस्य हुने गरी सदस्यता माग गरेका छन्।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: