मनोज यादव—
सर्लाही,फाल्गुन १०
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा रहेको कारागारमा ६३ जना कैदी बन्दीहरु थपिएका छन् ।
मलंगवा कारागारका जेलर मनोज कुमार मिश्रका अनुसार गत शुक्रवारदेखि सोमबारसम्म पटकपटक गरि सिन्धुली र बिरगंज कारागारबाट ६३ जना कैदी बन्दीहरुलाई हस्तान्तरण गरि यस कारागारमा ल्याइएको हो।
सिन्धुलीको कारागारबाट ३७ जना पुरुष र ७ जना महिलाहरु गरि जम्मा ४४ जना कैदी बन्दीहरु र बिरगंज कारागारबाट १५ जना पुरुष र ४ जना महिला गरि जम्मा १९ जना कैदी बन्दीहरुलाई मलंगवा कारागारमा ल्याइएको छ।
हस्तान्तरण गरि ल्याइएका अधिकांश कैदी बन्दीहरुको जिल्ला अदालत सर्लाहीमा मुद्दा चलेको र यहीँ स्थायी बसोबास रहेको जेलर मिश्रले जनाएको छ।
१६० जना पुरुष र ५० जना महिलासहित २१० जना कैदी बन्दीहरु राख्ने क्षमता भएको मलंगवा कारागारमा अहिले १३१ जना कैदी बन्दीहरु राखिएका छन् ।
१० जना कर्मचारीहरुको दरबन्दी रहेको यस कारागारमा हाल ८ जना कर्मचारीहरु कार्यरत रहेका छन् भने प्रहरी नायव निरिक्षक(सइ)को कमान्डमा २५ जना प्रहरीहरु परिचालित गरिएको छ।