Loktantra Khabar National Weekly
Ad

शाहरूख खानको सर्वाधिक कमाइ गर्ने तेस्रो फिल्म बन्यो ‘डंकी’

लोकतन्त्र खबर
२३ पुष २०८०

बलिउड अभिनेता शाहरूख खान स्टारर फिल्म ‘डंकी’ ले बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार डंकीले शाहरूख खानको सर्वाधिक कमाइ गर्ने तेस्रो फिल्मको रेकर्ड राखेको हो। यो फिल्मले विश्वभर ४२२ करोड ९० लाख भारू कमाएको छ।

‘डंकी’ ले शाहरूखकै फिल्म ‘चेन्नई एक्सप्रेस’ को रेकर्ड तोड्दै नयाँ रेकर्ड राखेको हो। सन् २०१३ मा प्रदर्शन भएको फिल्म चेन्नई एक्सप्रेसले विश्वभरबाट ४२२ करोड कमाएको थियो।

सन् २०२३ शाहरूख खानको लागि निकै फलदायी रह्यो। यसै वर्ष प्रदर्शन भएको फिल्म ‘जवान’ ले सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको छ।

उनका फिल्मले मात्र नभई शाहरूखले विभिन्न रेकर्ड राखिरहेका छन्। उनले एक वर्षमै २६ अर्ब कमाउने भारतीय अभिनेताको रेकर्ड राखेका छन्।

सन् २०२३ मा उनको तीन फिल्म ‘पठान, जवान र डंकी’ रिलिज भयो। यी फिल्मले भारतीय बक्स अफिसमा निकै राम्रो कमाइ गरेका छन्। उनको फिल्म ‘पठान, जवान र डंकी’ ले विश्वभरबाट २६ अर्ब कमाएको हो।

‘पठान’ ले १० अर्ब ५० करोड भारू कमाएको थियो भने ‘जवान’ ले ११ अर्ब ४६ करोड र ‘डंकी’ ले ४ अर्ब २२ करोड भारू कमाएको छ।

राजकुमार हिरानीले निर्देशन गरेको फिल्म ‘डंकी’ मा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ।

इमिग्रेसनको विषय वस्तुमा केन्द्रित फिल्ममा निर्देशक हिरानी र गौरी खानको लगानी रहनेछ। बलिउड अभिनेता शाहरुख खान र निर्देशक राजकुमार हिरानी पहिलो पटक एकसाथ काम गर्दैछन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: