Loktantra Khabar National Weekly
Ad

मलंगवाको म्याक्स हस्पिटलमा निशुल्क आँखा तथा हाडजोर्नी ,नशा जाँच शिविर सुरु

लोकतन्त्र खबर
११ पुष २०८०

मनोज यादव—-
सर्लाही,पुस ११

हरेक वर्ष झै यसवर्ष पनि सर्लाहीको सदरमुकाम मलंगवामा तीन दिने नि : शुल्क मोतियाबिन्द अपरेशन तथा हाडजोर्नी , नशा जाँच शिविर सुरु भएको छ। सर्लाही समाजसेवी कल्याणकारी परिवार मलंगवाको आयोजना मलंगवा नगरपालिकाको सहयोग तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौ र म्याक्स हस्पिटल मलंगवाको प्राविधिक सहयोगमा तीन दिने नि:शुल्क शिविर आयोजना गरिएको हो।

करिब डेढ दशकदेखि आँखा जाँच तथा मोतियाबिन्दुको अपरेशन गरेर समाजसेवा गर्दै आएको सर्लाही समाजसेवी कल्याणकारी परिवारले यसवर्ष हाडजोर्नी र नशा सम्बन्धि जाँच पनि नि:शुल्क रुपमा सुरु गरेको छ।

मलंगवा न.पा वडा न-२ स्थित म्याक्स हस्पिटलमा मंगलबारदेखि सुरु भएको उक्त शिविरको कल्याणकारी परिवारका अध्यक्ष सुवास कर्णको सभापतित्व तथा मलंगवा न.पा का नगरप्रमुख नागेन्द्र प्रसाद यादवको प्रमूख आतिथ्यतामा औपचारिक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख यादवले ‘अब कोही कसैले पनि पैसाको अभावका कारण आँखा उपचार सेवाबाट बञ्चित हुनु नपर्ने साथै कोही पनि आर्थिक अभावका कारण उपचार नपाइ दृष्टी विहीनको समस्याबाट बस्नु नपर्ने बताए । आर्थिक अवस्थाका कारण कुनै पनि नागरिकलाई उपचार सेवाबाट बन्चित हुन नदिन आँखाको मात्र नभइ महिला सम्बन्धि रोगको साथै अन्य रोगहरु र समस्याहरुको लागि यसैगरी नि:शुल्क शिविरहरु संचालनका लागि नगरपालिकाले सहयोग गर्दै जाने बताए।

शिविरमा आँखाको लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका डा.प्रणव श्रेष्ठ ,डा.सोहाना श्रेष्ठ ,याङ्ला डोङ्गला शेर्पा,भाग्यनारायण श्रेष्ठ ,डम्बर कुमारी श्रेष्ठ ,धन बहादुर महतो र प्रेम कृष्ण कार्की तथा हाडजोर्नी र नशा सम्बन्धि जाँच म्याक्स हस्पिटलका डा.संजय कुमार साहले गरिरहेको म्याक्स हस्पिटलका संचालक विभाष कुमार कर्णले जनाएको छ।

शिविरमा म्याक्स हस्पिटलका कर्मचारी र साउथ प्वाइन्ट स्कुल र पब्लिक मावि मलंगवा -२ का विद्यार्थीहरुले स्वयंसेवकको रुपमा सहयोग गरिरहेका छन् ।उद्घाटन कार्यक्रममा सहभागी वृद्धहरुले घर आँगनमै विशेषज्ञ डाक्टरबाट शल्यक्रियाका साथै आँखा चेकजाँच गराउन पाउँदा आफुहरु खुसी भएको बताएका छन्। शिविर पुस १२ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: