Loktantra Khabar National Weekly
Ad

महिनावारीका समयमा किन ‘ब्रेस्ट पेन’ बढी हुन्छ ?

लोकतन्त्र खबर
३ पुष २०८०

काठमाडौँ । महिला तथा स्त्री रोगका बारेमा सबै जना सचेत हुन अति नै आवश्यक छ । आधुनिक जीवन शैली र खानपानका कारण महिला तथा स्त्री रोग पीडितको पनि सङ्ख्या दिनानुदिन बढ्दो छ ।

त्यसमा पनि महिनावारीसम्बन्धी समस्या लिएर अस्पताल तथा चिकित्सककहाँ पुग्नेको सङ्ख्या बढ्दो देखिन्छ । अनियमित महिनावारी, महिनावारीका बेलमा धेरै पेट दुख्ने, कम्मर तथा ब्रेस्ट दुख्ने समस्याका बारेमा पनि जान्न आवश्यक छ । यसै सन्दर्भमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. विनोद अर्याल (एमडी) सँग रातोपाटीका लागि दीपा दाहालले गरेको कुराकानीको सम्पादित अंश

स्त्री रोग भनेको के हो विशेष गरेर यस अन्तर्गत केके पर्छन् ?

सामान्यतया स्त्री रोग भन्नाले स्त्रीका प्रजनन अङ्गहरूसँग सम्बन्धित रोगलाई बुझ्न सकिन्छ । यसमा पाठेघर, पाठेघरका छेउछेउमा रहेका डिम्बकोष, डिम्बकोषलाई पाठेघरसम्म ल्याउने नलीहरू, पाठेघरको मुख, पाठेघरको भित्री तह, योनी र योनीका वरिपरिका अङ्ग र स्तन जस्ता अङ्गमा लाग्ने रोगहरूलाई स्त्री रोग भनिन्छ ।

महिलामा प्रमुख समस्याका रूपमा अनियमित महिनावारी रहेको छ, यो किन अनियमित हुन्छ ? 

कति समयमा हुने महिनावारी सामान्य र कति समयलाई असामान्य भनिन्छ भनेर पहिला बुझ्न जरुरी छ । एक महिनामा ७/८ दिन तलमाथि हुँदासम्मलाई नियमित महिनावारी भन्न सकिन्छ । महिलाको उमेरका आधारमा पनि महिनावारीको अनियमितताको बारेमा जान्नुपर्ने हुन्छ । विशेष गरी महिनावारीको सुरुवाती अवस्था र महिनावारी सुक्ने बेलामा पूर्ण रूपमा महिनावारी नियमित नहुन सक्छ । यी दुईवटा एक्सिट्रिमहरू डिम्बकोषबाट बन्ने हर्मोनका कारणले हुन्छ । सुरुवाती अवस्थामा अङ्गहरू परिपक्व नभइसकेका कारणले गर्दा चाहिएको जति हर्मोन उत्पादन नहुने भएकाले महिनावारीमा गडबड हुन सक्छ । तर महिनावारीको सुरुवाती उमेर र महिनावारी सुक्ने बेलामा बाहेक रिप्रोडक्टिभ उमेर समूहमा हुने महिनावारीको गडबडी अरू धेरै कारणले हुन सक्छ । जस्तै हर्मोन प्रोडक्सन गर्ने डिम्बकोषमा केही समस्या भयो भने हुन सक्छ, स्त्री प्रजनन अङ्गमा केही गडबडी भयो भने पनि महिनावारी नियमित रूपमा हुँदैन ।

छिटो छिटो हुने वा एकदमै ढिलो हुने समस्या बढ्दो यसमा आत्तिनुपर्ने समयावधि कति मान्न सकिन्छ ? 

महिनावारीको सुरुवाती दिनहरू र महिनावारी रोकिने बेलामा चाहिँ आत्तिइहाल्नु पर्दैन । रिप्रोडक्टिभ उमेर समूहमा महिनावारीमा गडबडी भयो भने रगत धेरै बगेर रगत बग्ने सम्भावना हुन्छ । यसले रगतको मात्रा नै कम हुन्छ । ट्युमरहरू पलायो भने उपचार गर्नुपर्ने हुन्छ । तर पनि नियमित चेकजाँच गराउन उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

महिनावारीको समयमा छालामा विशेष समस्या पनि आउने गर्छ ? पिम्पल आउने वा सामान्य घाउ, खटिरा पनि आउने गर्छ यो किन हुन्छ ?

महिनावारी हर्मोनसँग सम्बन्धित प्रक्रिया हो । हर्मोन उत्पादन डिम्बकोषहरूबाट मात्र नभएर अरू अङ्गबाट पनि हुन्छन् । महिनावारीमा मात्र नभएर जहाँ जहाँ हर्मोन उत्पादनले सीधै असर गर्छ, ती अङ्गहरूमा पनि हर्मोनको गडबडीले असर पर्न जान्छ । पिम्पल आउनु पनि हर्मोनसँग सम्बन्धित हुन सक्छन् ।

यति मात्र नभएर ‘महिनावारीका समयमा स्तन दुख्ने, ढाड दुख्ने पनि हुन्छ ? यसको कारण उपचार चाहिँ के हुन्छ ?

कसैकसैको अत्यधिक हर्मोन उत्पादन हुँदा महिनावारीमा धेरै दुखाइ पनि ल्याउन सक्छ । विशेष गरेर सुरुवाती वर्षहरूमा यो धरै हुन्छ । यसैगरी महिनावारी हुने अङ्गहरू जस्तै पाठेघर, पाठेघरको मुखतिर कुनै संरचनात्मक समस्या छन् भने त्यसले पनि महिनावारीको नर्मल ब्लड फ्लोलाई रोकेर राम्रोसँग ब्लड फ्लो हुन नदिने अवस्था आउन सक्छ । त्यसमा पनि पिरियड पेन हुन सक्छ । संरचनात्मक समस्या र हर्मोनको कारणले नभए पनि दुखाइ छ भने त्यो सामान्य हो । सामान्य घरायसी उपचारले पनि निको हुन्छ ।

कतिपय महिलाहरूले चाडपर्व आउँदा या कुनै विशेष अवसरमा महिनावारी हुन नदिन औषधी खाने गर्छन्, त्यसले केही असर गर्छ कि गर्दैन ?

त्यो औषधीले त्यस्तो ठुलो असर त केही गर्दैन । हर्मोन औषधी दिइन्छ जुन शरीरबाट नै उत्पादन हुने हर्मोन हो । २/४ दिन महिनावारी तलमाथि गर्न दिइने औषधीले खासै ठुलो असर गर्दैन । रातोपाटी

 

 

प्रतिक्रिया दिनुहोस्: