Loktantra Khabar National Weekly
Ad

श्रीमान्–श्रीमतीमा सर्छ हाई ब्ल्डप्रेसर ?

लोकतन्त्र खबर
२४ मंसिर २०८०

काठमाडौँ । मान्छेहरू भन्छन् नि जोडी माथिबाटै बनेर आएको हुन्छ । साथसाथै बस्दै गर्दा श्रीमान् श्रीमतीमा एक अर्काको बानी पनि सर्छ । केही समयपछि दुबैका बानी मिसिन्छ । तर हालै जर्नल अफ अमेरिकन हार्ट एसोसिएसनमा सार्वजनिक भएको एउटा अनुसन्धान प्रतिवेदनले भने दम्पतीमा अर्को कनेक्सन पनि देखाएको छ । रिसर्चका अनुसार श्रीमान्–श्रीमतीमा मायाको मात्रै होइन हाई ब्लड प्रेसर अर्थात् उच्च रक्तचापको पनि सम्बन्ध हुन्छ ।

अमेरिका, बेलायत, चीन र भारतमा गरिएको यो सर्वेक्षणमा दुवै दम्पतीमा हाइपरटेनशनको सम्भावना २० प्रतिशतदेखि ४० प्रतिशतसम्म पाइएको थियो । अर्थात् सँगसँगै बस्ने दम्पत्तिमध्ये एकमा हाइपरटेन्सन छ भने अर्कोमा पनि यो रोग भेटिने सम्भावना २० देखि ४० प्रतिशतसम्म पाइयो । करीब ३३ हजार जोडीमा यो अनुसन्धान गरिएको थियो । यो अनुसन्धानको नतिजाले नयाँ चिन्ता उत्पन्न गराइदिएको छ ।

हाइपरटेन्शन र मधुमेह नसर्ने रोग हुन् । एक जनाबाट अर्को जनामा यो रोग फैलिँदैन । यी रोग भाइरस वा ब्याक्टेरियाबाट हुने रोग होइन । त्यसो भए दम्पत्तिमध्ये एउटालाई हुँदा अर्को लाई पनि यी रोग सर्नुको कारण के हो त ? विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार विश्वभरमा ३० देखि ७९ वर्ष उमेरका १ अर्ब २८ करोड मानिस हाइपरटेन्सनले पीडित छन् । यीमध्ये दुई तिहाइ विकासशील देशका हुन् । हाइपरटेन्शनको खतरा नयाँ त होइन । तर साथमै रहने जोडीबिच यो रोग भेटिनु चाँहि नयाँ कुरा हो ।

सँगसँगै बस्ने कपलमा देखिएको हाइपरटेन्शन एक मात्रै नसर्ने रोग होइन । नेशनल लाइब्रेरी अफ मेडिशिनमा छापिएको एउटा रिसर्चका अनुसार यो बाहेक पनि दम, डिप्रेसन, हाइपरटेन्शन, हाइ कोलेस्ट्रोल, पेप्टिक अल्सर आदि पनि एउटालाई हुँदा अर्कोलाई पनि भएको पाइएको छ ।

के हो कारण ?

साथमा रहने जोडीले एउटै खालको खानपान गर्ने भएकोले पनि यस्तो देखिएको हुन सक्ने विज्ञहरू बताउँछन् । यिनीहरू व्यायाम गर्ने मामिलामा पनि उस्तै उस्तै हुन्छन् । तनावको अवस्था पनि एक जस्तो हुन सक्छ । यी सबै चिजले हाइपरटेन्शन जस्तो रोगलाई जन्म दिन सक्छ । नेशनल लाइब्रेरी अफ मेडिशिनमा छापिएको एउटा अनुसन्धानका अनुसार साथमै रहने कपलमा यी रोग देखिनुको ३ मुख्य कारण हुन सक्नेछ ।

१. आर्थिक कारण: औषधि र उपचारमा खर्च गर्ने बानी एउटै जस्तो हुनु ।

२. सामाजिक कारण: एउटै खालको खानपान र जीवनशैली ।

३. व्यवहारिक कारण: उपचारको मामिलामा लापरबाही पनि उस्तै हुनु ।

हाई ब्लड प्रेसरको यी सङ्केतलाई बेवास्ता गर्नु हुन्न

डब्ल्यूएचओका अनुसार हाइपरटेन्शनको ४८ प्रतिशत मामिलामा मानिसहरूले उपचार गराइरहेका छैनन् । ४६ प्रतिशतलाई आफूमा हाई ब्लड प्रेसर छ भन्ने नै थाहा छैन । २१ प्रतिशतले मात्रै आफ्नो ब्लड प्रेसरलाई नियन्त्रणमा राख्न सकेका छन् । त्यसैले पनि विश्वभरमा हाइपरटेन्शन मृत्युको ठुलो कारण बनिरहेको छ । हरेक वर्ष करिब १७ लाख मानिसको मृत्यु यसको कारण भइरहेको छ । हाइपरटेन्शनका केही लक्षण अन्य रोगसँग पनि मिल्न सक्छ । तर यी लक्षणहरूलाई बेवास्ता गर्दा मुटु, मस्तिष्क र मृगौला सम्बन्धी कयौँ रोग निम्त्याउन सक्छ । त्यसैले यी लक्षणहरू देखिएका छन् भने डाक्टरसँग सल्लाह लिनुहोला:

सहनै नसक्ने गरी टाउको दुख्ने

छातीमा पीडा

रिँगटा लाग्ने

बान्ता हुने

एङ्ग्जाएटी

आँखाले स्पष्ट देख्न छाड्ने

नाकबाट रगत आउने

सास फेर्नमा समस्या

कसरी बच्ने ?

हाइपरटेन्शनको सबैभन्दा ठुलो कारण धेरै नुनिलो खानपान वा धेरै सोडियमयुक्त आहार हो । खानामा नुनको मात्रा कम गर्ने हो भने औषधिको सेवन गरेर घटाए जस्तै गरी ब्लड प्रेसर घटाउन सकिन्छ । खानामा नुनुको मात्रा कम गरेर ब्लड प्रेसर ६ एमएम एचजीसम्म कम गर्न सकिने हालै अमेरिकाको वेन्डरबिल्ट विश्वविद्यालयमा गरिएको एउटा अनुसन्धानमा पाइएको थियो ।

सँगसँगै बस्ने दम्पतीमा यी रोग एकै साथ देखिनुमा एउटै खालको जीवनशैली सबैभन्दा ठुलो कारण हो । एउटै खालको खानपिन, एउटै खालको रहन–सहन र रुटिन पनि यसको अन्य कारण हुन सक्छ । त्यसैले जीवनशैलीमा स–साना परिवर्तनहरू गरेर पूरै परिवार स्वस्थ रहन सकिन्छ ।

खाना बनाउँदा सकेसम्म कम नुन प्रयोग गर्नुस्

तौल घटाउनुस्

नियमित रूपमा ब्लड प्रेसर जँचाउनुस्

तनाव कम गर्नुस्

कसरत गर्नुस्

चुरोट, सुर्ती छाड्नुस्

रक्सीको सेवन बन्द गर्नुस्

फास्ट फुडको सेवन पनि सकेसम्म कम गर्नुस् एजेन्सी /रातोपाटी

 

प्रतिक्रिया दिनुहोस्: