Loktantra Khabar National Weekly
Ad

कोइलही ताल विवाद उत्कर्षमा : संरक्षणको नाममा ३/३ वटा समिति

लोकतन्त्र खबर
१६ कार्तिक २०८०

वडा कार्यालयमा तालाबन्दी यथावत

धनगढी । पर्यटन गन्तव्यको रुपमा चिनिँदै आएको कैलालीको दोस्रो ठुलो ताल कोइलहुवा विवादमा तानिएको छ ।

जिल्लाको कैलारी गाउँपालिका–९ स्थित कोइलहुवा तालको संरक्षण र उपभोगको विषयलाई लिएर स्थानीय र वडा कार्यालयबिच विवाद उत्कर्षमा पुगेको छ । वडाध्यक्ष खेमराज चौधरीले ताल संरक्षणको नाममा समितिमाथि समिति बनाएको र अनियमितता गरेको भन्दै स्थानीयले विरोध गर्दै वडा कार्यालयमा सोमबारदेखि तालाबन्दी गरेका छन् । तालाबन्दी हालसम्म यथावत छ ।

पछिल्लो समय तालमा माछा पालनका लागि ठेक्का दिइँदै आएको छ । जसले तालको जलीय जैविक विविधता नष्ट भएकाले सिमसार क्षेत्र बनाइनुपर्ने र सामुदायिक वनबाट ताललाई अलग राखिनुपर्ने स्थानीयको माग छ । पहिलादेखि आफूहरुले तालको पानी सिँचाइमा प्रयोग गर्दै आएकाले प्रयोग गर्न पाउनुपर्ने स्थानीयको भनाइ छ ।

स्थानीय बुद्धिजीवी सन्तराम चौधरी भन्छन्, ‘ठेक्काका कारण यहाँको सिमसार नष्ट हुँदैछ । साथै तालको पानी सिँचाइका लागि नपाइँदा समस्या भएको छ । जुनकारण ताललाई सिमसार क्षेत्र बनाइनुपर्छ भन्ने हाम्रो मुख्य माग हो ।’

त्यस्तै वडाध्यक्ष चौधरीले संरक्षणको नाममा मनलाग्दी समितिमाथि समिति बनाउँदै हिँडेको स्थानीयको आरोप छ । स्थानीय कमल सिंह रानाले वडाध्यक्ष चौधरीले समितिमाथि समिति बनाइदिँदा संरक्षणको काम नै ओझेलमा परेको बताए ।

उनका अनुसार जेठ यता ३ वटा समिति गठन गरिएको छ । वडाध्यक्ष चौधरीको सिफारिसमा डबल सलामीको अध्यक्षतामा बनाइएको समितिले काम नगरेपछि आमभेलाबाट जेठ १९ गते रामदुलारु चौधरीको अध्यक्षतामा अर्को समिति बनाइयो । पछि पुनः कार्तिक ४ गते गरिबदास चौधरीको अध्यक्षतामा अर्को ताल संरक्षण सम्वर्द्धन समिति बनाइएको छ ।

तर वडाध्यक्ष चौधरीले भने एउटा समिति वडास्तरीय रहेको र अर्को ताल समिति रहेको बताएका छन् । वडा कार्यालयमा गरिएको तालाबन्दीको निकास कसरी निकाल्दै हुनुहुन्छ भन्ने जिज्ञासामा उनले आफूलाई केही थाहा नभएको ठाडो जवाफ फर्काए ।

तालको पानी कैलारी गाउँपालिकाको वडा नं. ६ का बनकट्टा, लम्मीफाँटा र वडा नंं ९ को गदरिया, कोइलही, जमुनीपुरका स्थानीयले सिँचाइमा प्रयोग गर्दै आएका छन् । ठेक्कामा प्रक्रियामा गइसकेपछि ठेकेदारले आफू अनुकुल पानी फाल्ने गरेको स्थानीयको भनाइ छ ।

विवादले पयर्टनमा असर पर्ने चिन्ता

स्थानीय निकाय र स्थानीयबिचको विवादले पर्यटन प्रवर्द्धनको कार्य ओझेलमा पर्ने देखिएको छ ।

ऐतिहासिक र प्राकृतिक सुन्दरताले भरिएको ताल जिल्लाकै पर्यटन गन्तव्यको रुपमा परिचित छ । तर स्थानीय निकाय र स्थानीयबिचको विवादले पर्यटनमा असर पर्ने देखिएको हो ।

७२ हेक्टर क्षेत्रफलमा फैलिएको ताल सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी एवं कैलाली जिल्लाको सदरमुकाम धनगढीबाट करिब ४७ किलोमिटरको दुरीमा र पूर्वपश्चिम राजमार्गको राजीपुरबाट झण्डै १२ किलोमिटर दक्षिण छ ।

केही वर्ष पहिले तालमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिद्वारा कोइलही ताल संरक्षण, विकास तथा व्यवस्थापन कार्यक्रम लागु भएको थियो ।

कार्यक्रम लागु भएपछि भौतिक संरचना निर्माणको जिम्मा पाएको नेपाली सेनाले २ वर्षको अवधिमा मुल गेट, मन्दिर, चिल्ड्रेन पार्क, पिकनिक स्पट, भ्यू टावर, पुल, बाटो, ड्याम, सिमेन्टले बनाइएको बस्ने कुर्सी, खानेपानी, शौचालय, प्रतिक्षालयलगायत विभिन्न भौतिक संरचना निर्माण गरेको थियो भने तालमा शयर गर्न डुंगा सञ्चालन गरिएको छ । यहाँ दैनिक सयौँ बाह्य र आन्तरिक पर्यटक आउने गरेका छन् ।

तालको ऐतिहासिक पक्ष

जिल्लाको घोडाघोडी तालपछि दोस्रो ठूलो तालको रूपमा चिनिने कोइलही तालको आफ्नै ऐतिहासिक विशेषता छ । कोइलहीको नामले परिचित भए पनि त्यहाँ कोइलही र कोइलुवा गरी दुई वटा ताल छन् । जसको केही क्षेत्र वनजंगलले घेरिएको छ भने ताल क्षेत्रमा बहुसंख्यक आदिवासी थारु समुदायको बसोबास छ ।

स्थानीय बुढापाकाहरूका अनुसार कुनै बेला ताल भएको क्षेत्रमा बृद्ध लुहार दम्पती बसोबास गर्दथे, जहाँ सानो पोखरी थियो । उनीहरू त्यही पोखरीको डिलमा दाउरा जलाएर कोइला भिजाउने काम गर्दथे ।

एक दिन कोइला बनाउने क्रममा एकाएक पोखरीसहितको त्यहाँको जमिन भासिन पुग्यो । पोखरी भासिएपछि ती वृद्ध दम्पतीको मृत्यु भएको र पोखरी तलाउमा परिणत भएको किंवदन्ती रहेको स्थानीय रामस्वरूप चौधरी बताउँछन् ।

कालान्तरमा कोइलाबाटै ठुलो तालको नाम कोइलहुवा (पुरुष) र सानो ताललाई कोइलही (महिला) भन्न थालिएको स्थानीयहरू बताउँछन् । तालकै नामबाट कोइलही गाउँ नामकरण भएको हो । रातोपाटी

प्रतिक्रिया दिनुहोस्: