Loktantra Khabar National Weekly
Ad

‘ग्वार्को फ्लाइओभर’को के छ कार्यप्रगति ?

लोकतन्त्र खबर
१४ कार्तिक २०८०

ईपीसी मोडलमा निर्माणाधीन नेपालकै पहिलो फ्लाइओभर

काठमाडौँ । नेपालकै पहिलोफ्लाइओभर ललितपुरको ग्वार्कोमा धमाधम निर्माण भइरहेको छ । नलेज सेयरिङ्ग एण्ड टेक्नोलोजी ट्रान्सफरको अवधारणामा सिकाईको रुपमा समेत अघि बढाइएको यो परियोजना इन्जिनियरिङ्ग, प्रोकुरमेन्ट एण्ड कन्स्ट्रक्सन (ईपीसी) खरिद मोडलमा अघि बढाइएको हो । अर्थात् ठेकेदार (निर्माण) व्यवसायीबाटै परियोजनाको सर्भे, डिजाइनिङदेखि निर्माण कार्यसमेत सम्पन्न गर्ने गरीफ्लाइओभरको काम अघि बढेको छ ।

२०७८ फागुन १२ गते निर्माण ठेक्का सम्झौता भएर अघि बढेको यस परियोजनाको हालसम्म करिब एक तिहाइ भौतिक प्रगति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । सडक विभाग मातहत सञ्चालित यस परियोजनाको आवश्यक टोपोग्राफी सर्भे, जिओटेक्निकल सर्भेको कार्य सम्पन्न भएर हाल सोही डिजाइनका आधारमाफ्लाइओभरको कूल २४ वटा पाइलमध्ये ८ वटा पाइल निर्माण सम्पन्न भइसकेको छ ।

विभागका योजना तथा अनुगमन शाखाका निर्देशक इन्जिनियर शिवप्रसाद नेपालका अनुसार निर्माण व्यवसायीबाट टोपोग्राफिकल सर्भे, जिओटेक्निकल सर्भेको आधारमा पेश भएको डिजाइन अनुसारको प्रविधि प्रयोग गरिएको छ । जसअनुसार सोल इम्प्रुभमेन्ट गर्ने, मेकानिकल्ली स्टेबलाइज्ड वाल प्रविधि प्रयोग गरेर र्‍याम्प निर्माण गर्ने तथा अबुटमेन्ट मुनि १.५ मिटर व्यास र ३४ मिटर लम्बाइको ४/४ वटा पाइल भएको ब्रिज (ओभर–पास) सहितको डिजाइन सडक विभागबाट २०७९ माघ २३ गते स्वीकृत गरेको थियो ।

तर सो डिजाइनमा केही प्राविधिक समस्या देखिएपछि परिमार्जनसहित २०८० भदौ १० मा ठेकेदार कम्पनीलाई पुनः रिजर्भ डिजाइन विभागबाट स्वीकृत प्रदान गरिएको नेपालले बताए । सो डिजाइनअनुसार १.२ मि. ब्यास र ३० मि. लम्बाइका १२/१२ वटा पाइल गरी जम्मा २४ वटा पाइल निर्माण हुनेछ । सोमध्ये हालसम्म ८ वटा पाइल निर्माण भैसकेको छ ।

सवारी आवागमन व्यवस्थापन

फ्लाईओभर निर्माणाधीन चक्रपथ ग्वार्को सडक खण्डको सवारी आवागमनमा बाधा अवरोध हुने गरी परियोजना क्षेत्रमा अप्रोच रोडको र्‍याम्प निर्माणका लागि ० देखि ४.८ मिटरसम्म उचाइको इमब्याक्मेन्टको डिजाइन तयार गरिएको विभागले जनाएको छ ।

अप्रोच रोडको र्‍याम्प निर्माणका लागि भारतबाट मोल्ड आयात गरी साइटमा भारतीय विज्ञको प्रत्यक्ष निगरानीमा रेडी मिक्स कङ्क्रिट प्रयोग गरेर एमएसई वाल दैनिकजस्तो ढलान गरिएको छ । जसमा २३७६ वटा प्रोकास्ट प्यानलमध्ये हालसम्म १२६१ वटा प्यानल ढलान भैसकेको समेत विभागले जनाएको छ ।

र्‍याम्प निर्माणका लागि फ्लाइङ्ग गर्न आवश्यक पर्ने माटोका लागि स्पेसिफिकेशन मुताबिक टेस्टिङ्ग गरी रोशी गाउँपालिकामा क्वारी साइट निर्क्योल गरिसकिएको विभागले जानकारी दिएको छ ।

साथै, मेन ब्रिजको फाउन्डेसन अर्थात् जग रहने स्थानमा निर्माण स्थल वारपार हुने गरी अवस्थित नेपाल विद्युत् प्राधिकरणको ४३ केभीएको भूमिगत प्रसारण लाइनको स्थानान्तर गरिने भएको छ । जसमा नेपाल विद्युत् प्राधिकरण ललितपुरबाट पेश भएको लागत अनुमानबमोजिम निर्माण कार्यमा कुनै अवरोध नहुने गरी स्थानान्तर गर्ने मेरोरेन्डम अफ अन्डरस्ट्यान्डिङ–एमओयू सम्झौता गरी काम अघि बढाइएको विभागले जनाएको छ ।

ब्रिज संरचना निर्माण लागि आवश्यक कङ्क्रिट मिक्स डिजाइन गरी आवश्यक तयारी अवस्थामा रहेको विभागले जानकारी दिएको छ । पाइलसम्बन्धी निर्माण कार्य गर्न रिनफोर्समेन्टको क्यागिङ तयार गर्ने तथा आवश्यक मेसिन औजार साइटमा परिचालन गरी निर्माण कार्य अगाडि बढाइएको विभागको भनाइ छ ।

परियोजनाको प्रिस्टेड प्रिकास्ट ग्रिडर निर्माणका लागि साइटमा कङ्क्रिट बेस निर्माण गर्ने तथा रिइनफोर्समेन्ट भण्डारण गरी बार बिन्डिङ्गको कार्य अगाडि बढाइएको समेत विभागले उल्लेख गरेको छ ।

वित्तीय प्रगति

कूल १७ करोड ६ लाख ८८ हजार ८ सय ८८ रुपैयाँ (भ्याटसहित) ठेक्का सम्झौता रहेको रहेको यस परियोजनाको हालसम्म ८ प्रतिशत मात्र वित्तीय प्रगति रहेको विभागले जनाएको छ ।

निर्माण कम्पनी श्री आशिष–समानान्तर रेलिगेर जेभी नयाँ बानेश्वरलाई परियोजना मुभिलाइजन एडभान्स पेमेन्टबापत १ करोड ३७ लाख २० हजार रुपैयाँ मात्र भुक्तानी दिइएको विभागले जनाएको छ ।

२०७८ फागुन १२ गते सम्झौता भएको परियोजनाको समय सीमा यसै वर्षको फागुन १२ गते सकिँदै छ । तर, बिचमा परियोजनाको डिजाइन नै परिवर्तन गर्नु परेकाले यसमा केही विलम्ब हुन सक्ने देखिएको छ ।

परियोजना छिटो सक्न मन्त्री ज्वालाको निर्देशन

विभागीय मन्त्री प्रकाश ज्वालाले सोमबार निर्माणाधीन ग्वार्कोफ्लाइओभरको स्थलगत अवलोकन गरेका छन् । संघीय संसद्, विकास समितिको अगुवाइमा गएको मन्त्रीसहितको टोलीलेफ्लाइओभरको निर्माण अवस्था र कार्यप्रगतिबारे जानकारी लिएका छन् ।

भ्रमणमा मन्त्री ज्वालाले प्रभावकारी कार्यसम्पादनसहित परियोजना छिटो सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । ईपीसी मोडल आफैमा नयाँ प्रयोग भएकाले यसको प्रभावकारिता र विश्वसनीयतालाई ख्याल गर्दै परियोजना सफल पार्न कम्पनीलाई उनले विशेष आग्रह गरे ।

काठमाडौँ उपत्यकाको चक्रपथमा विद्यमान सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारको नीति तथा कार्यक्रम बमोजिम ललितपुरको ग्वार्को चोकमाफ्लाइओभर निर्माण कार्यको सुरुवात गरेको हो ।

ग्वार्कोफ्लाइओभर निर्माणबाट चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभू सडक खण्डमा सवारी साधनलाई सुरक्षित, सहज तथा व्यवस्थित तरिकाले आवागमन गर्न सुविधा प्राप्त हुने विश्वास लिइएको छ ।

ग्वार्कोफ्लाइओभर संरचना निर्माण गरी सुविधा प्रदान गर्न सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्र, ललितपुरबाट इम्प्लोइ रिक्यारमेन्ट बमोजिम फूल डेफ्थ टेपोरोरी क्यासिङ प्रयोग गरी पाइल निर्माण गरी सिंगल स्पान–स्ट्रेरेस्ड पोस्ट टेनिशनिङ ग्रिडर ब्रिजको ओरपास मेकानिकल्ली स्ट्याबलाइज्ड अर्थन वालको प्रविधि प्रयोग गर्ने भएको छ ।

यसमा बालकुमारीतर्फ ३२० मिटर लम्बाइको र सातदोबाटोतर्फ १८५ मि. लम्बाइको र्‍याम्प निर्माण गर्ने गरी इन्जिनियरिङ, प्रोसुमेन्ट एण्ड कन्स्ट्रक्सन–ईपीसी माध्यमबाट राष्ट्रिय स्तरको प्रतिस्पर्धामार्फत निर्माण व्यवसायी चयन गर्ने गरीफ्लाइओभरको निर्माण कार्य अघि बढाइएको हो ।  रातोपाटी

प्रतिक्रिया दिनुहोस्: