Loktantra Khabar National Weekly
Ad

फिल्म ‘दिमाग खराब’ ले क्रिकेट खेलाडीलाई ५० हजार पुरस्कार दिने

लोकतन्त्र खबर
१३ कार्तिक २०८०

निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ ले कात्तिक १३ गते सोमबारदेखि हुने आएसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा ‘म्यान अफ द म्याच’ हुने खेलाडीलाई ५० हजार रूपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ।

यस्तै आफ्नो खेलले टिमलाई महत्वपूर्ण सहयोग गर्ने खेलाडीलाई ‘सेग्मेन्ट अफ द डे’ अन्तर्गत १० हजार प्रदान गरिने निर्माता रौनक विक्रम कँडेलले जानकारी दिए।

यो पुरस्कार नेपाली खेलाडीले मात्र पाउनेछन्। यसको छनोट गर्ने सम्पूर्ण अधिकार भने नेपाल क्रिकेट संघ (क्यान) लाई दिइएको छ। त्यस्तै फिल्मको कूल मुनाफाको ५ प्रतिशत क्यानको विकासका लागि समेत प्रदान गरिने भएको छ। यस विषयमा आइतबार निर्माता कडेल र क्यानका पदाधिकारीबीच सहमति भएको हो।

नेपाली खेलाडीलाई हौसला र क्रिकेटको विकासका लागि आफूले यो कदम उठाएको कँडेलले बताए। क्यानसँग मिलेर फिल्मका टिमले ‘कात्तिक २४ गते दिमाग खराब हेरौं, नेपाली क्रिकेट टिमलाई सहयोग गरौं’ भन्ने नारा पनि बनाएको छ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायत कलाकारको अभिनय छ। निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि फिल्मको एक गीतमा देखिएका छन्।

आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्म राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो। तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माता रहेका छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: