Loktantra Khabar National Weekly
Ad

आन्तरिक पर्यटकले भरियो रारा, बुकिङ गरेर जान व्यवसायीको अनुरोध

लोकतन्त्र खबर
१२ कार्तिक २०८०

दसैं सकिएलगत्तै नेपालीहरू विभिन्न गन्तव्यमा घुम्न पुगेका छन्। प्रायः सबैजसो पर्यटकीय गन्तव्यहरू यतिबेला स्वदेशी पर्यटकले भरिभराउ छन्।

मुगु जिल्लामा रहेको रारा तालमा पर्यटकको संख्या बढेसँगै बुकिङ गरेर मात्र जान व्यवसायीहरूले अनुरोध गरेका छन्।

पर्यटकीय सिजन र चाडपर्व चलिरहेकाले बिदाका समयमा रारा घुम्ने पर्यटकको संख्या ह्वात्तै बढेपछि व्यवसायीहरूले यस्तो आग्रह गरेका हुन्।

कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवी कृष्ण रोकायाकाअनुसार रारामा हाल दुई सय जना बस्न मिल्ने क्षमताका रेष्टुरेन्ट छन्। क्षमताभन्दा बढि पर्यटक पुगेपछि व्यवस्थापनमा समेत समस्या भइरहेको उनले बताए।

सधैंभरी पर्यटकको फ्लो नहुने हुँदा रारामा सीमित होटलहरू मात्र छन्। अहिले क्षमताभन्दा बढी पर्यटहरू आएकाले बस्न-खाना केही समस्या समेत देखिएको छ,’ उनले भने, ‘रारा आउँदै हुनुहुन्छ भने बुकिङ गरेर मात्र आउनुहोला भन्न चाहन्छु।’

रारा इको रिसोर्टका सञ्चालक समेत रहेका रोकायाका अनुसार अहिले रारा घुम्न दैनिक सात सयभन्दा बढी आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन्।

‘राराका होटलको क्षमता दुई सय जना हो। तर दैनिक सात सयभन्दा बढी पर्यटक पुग्न थालेपछि यहाँको व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ,’ उनले थप भने, ‘यदी उहाँहरूले बुकिङ गरेर आइदिनु भयो भने घुमाघामसँगै सन्देश पनि राम्रो जान्छ।’ सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: